प्रिय साहिलो भाइ (कृष्ण गौतम ) १२ औं स्मृति :

प्रिय साहिलो भाइ (कृष्ण गौतम )
१२ औं स्मृति :
जसलाई गुमाइन्छ ,उसको बारेमा सस्मरण लेख्ने कुरा निकै पिडादायक हुदो रहेछ । बाह्र वर्ष बिते हरेक वर्ष मंगसिर महिना लागे पछि जल्लादहरुले भाइलाई धपाउदै , लेखेट्दै गरेको सपना देखिन्छ  । बिगतको सम्झनाले मन मस्तिश्क लाई पुरै लथालिङग बनाउँछ  ।  अनि मंग्सीर १७ प्यारो भाइ साहिलाले सहादत गरेको दिनले मनमा हुण्डरि मच्चाउछ  । श्रद्धान्जलीको निम्ति दुइ शब्द लेख्न थाल्यो भने आँखामा साउनको भेल बगेझैं हुन्छ । मन मष्तिष्कलाई जति सुकै कठोर बनाउन खोज्यो भने पनि थाम्न सकिदैन  ।  केही लेख्न थाली हाल्योभने पनि कलमको गती रोकिएर ,कागज भिज्ने शिवाय केही भएन ।  श्री जनसेवा संस्कृत मा वि , त्यो बिद्यालय  जहाँ सेवा गर्दा गर्दै दर्जनौ पटक खुनी शाशकहरुले वरेन्ट जारी गरे ,घरमा पुर्जी  टास्ने काम गरे । र, अन्त्यमा एउटा निशश्त्र ब्यक्तिलाई दुश्मनहरुले कायर्तापुर्वक हत्या गरे । हामीले परिवारको एउटा महान सदस्यलाई सदाको लागि गुमायौ । जनसेवा मा ॰ वी ॰ ले एउटा होनाहार कुशल शीक्षक गुमायो भने जनताले आफ्नो आँखा को नानी गुमायो । शोकको घडिमा हजारौं जनताले पिडा बोध गरे । मानिसको मुल्याङ्कन अबशान पछि मात्र हुने रहेछ । शायद हाम्रो सामाजिक चलन पनि यस्तै भएर होला । एउटा महान शहिदको सम्मान को खातिर हामी बाचेकाहरुले सलाम बाहेक के नै पो दिन सक्छौ र ?    कतिपय अवस्थामा परिवारको एउटा सदस्यलाई गुमाएर शहिद बनाइयो , सहिद महान हुन् भन्ने कुरा औपचारिक आभूषण मात्र हुन् जस्तो लाग्छ  किनकि देसलाई सहिदको महत्व भन्दा नाबालक छोरा छोरीलाई बाबु आमाको महत्व कति र कस्तो हुन्छ बताई रहनु पर्दैन । भाइ कृष्ण गौतम को दुब्लो पातलो झुस्स दारी पालेको ,अनी ढाका टोपी लगाएको जिवन्त अनुहारको  उपस्थिती अब हाम्रो घरमा हुने छैन भनेर सम्झ्यो भने पनि मात्र त्यो पिडा असैह्य हुन्छ ।  त्यो पीडालाई शब्दमा ब्यक्त गर्न असम्भव छ । हामी घाँस काट्न संगै जान्थौं । उसले अलि ठुलो डोको लिएर हिड्ने बानी थियो त्यसले मलाइ हुन सम्म मनोबैज्ञानिक दबाब दिन्थ्यो  । दाजु भए पछि भाइले भन्दा सानो डोको लिएर हिड्ने कुरा पनि भएन । जब राती हुन्थ्यो घरमा जाने कुरामा झगडा हुन्थ्यो । घासको भारी टम्म नपारे सम्म घरमा नजाने उसको अडानको अगाडि मेरो केही चल्दैनथ्यो । डर लाग्छ , अध्यारो भै सक्यो छिटो घर जाम भन्यो भने के को डर , कहाँ छ भुत ? लौ देखा भनेर सानै देखि आफु खाटी भौतिकबादी भएको कुरा  निर्धक्क संग भन्ने उसको स्वभाव पछि सम्म रह्यो  ।  हरेक काम गर्न सुरु गरे पछि प्रतिकुल अवस्थामा पनि तेसलाई फत्ते गर्नु पर्ने उसको अडान मलाई भने अली झर्को  लाग्थ्यो ।  रातिमा पढ्न शुरु गरेपछी बत्ति ननिभाइ कन छर्लङै बिहान सम्म पढ्ने ,कबिता लेख्न शुरु गरेपछी पुरै डायरी सक्नु पर्ने,  लेन देन हिसाब किताब ५ पैसा पनि रिट्ठो नबिराइ डायरिमा टिप्ने ,किन मेल गर्दा र गरिसकेपछी सबै चिज्को फेहरिस्त तयार गरेर राख्ने , जस्ताको तस्तै हिसाब बा लाइ महिनै पिच्छे बुझाउने ,भारिबोक्नु पर्यो भने उठ्नै नसक्ने गरी बोक्ने ,धारा बाट पानी बोक्दा २ वटा गाग्रिमा एकै चोटि पानी ल्याउनु पर्ने स्वभाव थियो भाई कृष्णको । कुनै पनि काम शुरु गरे पछि त्यसलाई सत्प्रतिशत्नै पूरा गरेरै छाड्नु पर्ने उसको जन्म जात स्वभाब जीवनको अन्तिम घडी सम्म पनि जस्ताको तस्तै रह्यो । दुस्मनको कब्जामा परेपछी पनि आफ्नो आस्थामा अडिग रहेको र गोपनियता भङग गरेर गद्दारी गर्नु भन्दा मृत्यु लाई रोजेको कुरा प्रत्यक्षदर्शीहरु बताउछन ।
घरमा लिप पोत गर्न शुरु गरे पछि तलमाथी चारै तिर सक्नु पर्ने उसको बानी थियो । आमा मात्र १ जना महिला घरमा भएकोले हामीहरुले घरायसी काममा पनि आमालाई सघाउनु पर्थ्यो । धान कुट्ने , कोदो पिस्ने , भैंसीलाई कुढो पकाउने , दाउरा चिर्ने ,बटुल्ने , बेला बखत खरानीमा लुगा पकाउने , बोकेर खोलामा लैजाने धुने सबै सबै । पुजा,आजा ,ब्रत उपवास र सुची निचिका काम आमा लाई बाक्लै गर्नु पर्ने । भएका र खेर गएका जम्मा जोड्दा १६ वटा सन्तानलाई हाम्री आमाले जन्म दिनु भएछ। ,भाडा माझ्ने,लिप पोत गर्ने सबै काम हामीले गर्नु पर्थ्यो। घर लिप्ने काममा समेत भाई कृष्णको राम्रो दक्षता थियो । उसले गरेको काम आमा लाई धेरै चित्त बुझ्दथ्यो । आमालाई भाडा नमझाउने नियम हामीले २०३६ साल तिरै बनाएका थियौँ । हाम्रो घरमा आउने सङगठनका साथीहरुले आफ्नो जुठो भाडा आफै माझ्थे । कहिलेकाही धेरै साथीहरु आउँदा भने आमालाई सम्झाउन निकै गाह्रो पर्थ्यो। घरमा बा पण्डित भएकोले बा का संगतका छुट्टै खाले पाहुना आउंथे । भागवत पुराण स्वर्ग नर्कका आदि कुरा गर्थे । हाम्रो घरमा एउटा मसाल कोठा थियो । त्यो कोठामा मार्क्सबादका कुरा हुन्थ्यो अनि वर्ग संघर्षका जटिल सैद्धान्तिक तर्क बितर्क चल्थ्यो  । सधैं पार्टि संगठनका साथीहरु आएर त्यहि बस्ने हुँदा त्यसलाई आमाले मसाल कोठो भन्न थाल्नु भयो । हुँदा हुँदा त्यो कोठा गाउँमा नै चर्चित हुन थाल्यो। त्यो कोठामा आएर बस्नेहरुले भने रुख्खा सुख्खा जस्तो पनि खाने अनि भाडा पनि आफै माझ्ने गर्थे ।
यो सस्मरणमा भाई कृष्णलाई म के भन्न चाहन्छु भने “कृष्ण ! तिमी यो भौतिक सन्सारमा नभए पनी गाउ घर,छर छिमेक ,वारी पारी,मात्र हैन सारा जिल्ला अनी अञ्चल भरिनै जनसमुदायले तिम्रो साहादातमा शब्दमा बयान गर्न नसकिने पिडा बोध गरेको छ। तिमी साचिकै जनसमुदायको मुटुको ढुक ढुकी बनी सकेका रहेछौ । स्वदेश ,बिदेश ,मधेस पहाड सबै ठाउमा बस्ने तिम्रा सहपाठीहरु,गुरुहरु सङगठनका सहयोद्धाहरु ,बिध्यालय परिवार ,भाइ बहिनीहरु ,उत्पिडित  जनसमुदाय लगायत सबै तह र तप्काले आफ्नो सम्पतिभन्दा पनि ठुलो कुरा गुमाएको महशुस गरेको छ । तिम्रो भौतिक अवशान सार्थक बन्नको लागि हामीले अझै कहीले सम्म पर्खिनु पर्नेहो त्यो भने हेर्ने इक्षा अपुरै होला जस्तो छ । हामीले त्यति बेला गरिब देखेका हाम्रा नेताहरु धेरै अहिले धनि बनि सक्नु भयो । सन्तोषलाई बोर्डिङ्ग स्कुल पढाउन अरुले सल्लाह दिंदा तिमीले ठाडै इन्कार गरेको कुरा म अहिले झल्झली सम्झी रहेको छु  । कुरा तिम्ले सोचे जस्तो कहाँ भयो र यहाँ त अर्कै भयो । बा ले इण्डियामा जाँदा हेरेको कमला सर्कस जस्तै भयो । छोटो समयमानै कुराहरु पर्दामा हेरे जस्तै भयो । त्यो महान अभियानमा तिमि संगै हिंड्ने हरु धेरैको अहिले ठुला ठुला शहरमा घर बनि सकेका छन् । कुरा त यहाँ अर्कै भयो ।  आमुल परिवर्तनको लागि भएको त्यो महान त्यागले अझै मुर्त रुप लिन सकेको छैन। कहीले काही त यस्तो लाग्छ कतै शिर्शिकोट्मा बगेको त्यो रगतको भेल पानी बन्ने त होईन ?  तैपनी हामीले आशा भने अझै मारी सकेका छैनौ । तिम्रो बलिदानी महान छ भन्ने कुरामा भने कुनै शँका छैन हामी मा ।  मुक्ती या मृत्युेको महान यात्रामा हामीले तिमीलाई कहिलेइ पनि बाटोमा काडा तेर्स्याउने काम गरेनौ । आफ्नो उदेस्यमा तिमी प्रस्ट थियौ र उदेश्य प्राप्तिका एजेन्डा हरु पनि अकाट्ट्य थिए भन्ने कुरा पनि तेत्तिकै सत्य हो।  शायद हाम्रो समाज्नै बर्गमा बिभाजित भएर होला बैचारिक असमानता र बर्गिय सोचको कारणले कोहि पनी यो दुनियामा सबैको नजरमा प्रिय हुन सक्दो रहेनछ । विश्वका महान बिचारक र दार्शनिकहरुलाई पनि तत्कालिन समाजले राम्ररी पचाउन नसकेको कुरा हामीलाई थाहा छ। स्वयम बुद्ध भगवानले पनि त्यो प्रब्रितिका बिरुद्ध संघर्स गर्नु परेको थियो। त्यसको अपवाद तिमिपनी हुने कुरा भएन । पन्चायती व्यबस्थकै पालादेखी हाम्रो जस्तो रुधिवादी समाजमा र अझ त्यसमा पनि कट्टर ब्र्हामण परिवारमा एउटा प्रगतिशिल क्रान्तिकारी बिचार बोकेर अगाडि बढ्नु कति जोखिम थियो अनी कति अप्ठ्यारो । छोराहरु बिग्रे भनेर हाम्रो बुवाको मन बिगार्न पञ्चहरु कम्मर कसेर लागेका थिए। एउटा ठुलै पञ्च ले २०३६ सालमा गाउँ छाडेर हिडेमा तराइमा जग्गा मिलाइदिने र राजतन्त्र को बिरुद्धमा निर्मल जनसेवा मा॰ वि॰ मा गरेको भाषण गल्ती थियो भनेर कागज गरेमा राज्काज मुद्दा पनि फिर्ता गराइदिने आस्वाशन दिएका थिए । तैपनी बुवालाई हामी गलत बाटोमा लागेका छैनौ भन्ने पक्का थियो । दूरगामी परिवर्तनका लागि निरन्तर प्रतिबद्ध राजनीतिक अभियानको बाटोमा हामी लाग्यौं। तिमित झन महासमरको यात्रामा सहभागी भएको कारण आज महान सहिद बन्यौ, दुश्मनहरुको कब्जामा परेपछी कायर हरुले तिम्रो प्राण पखेरु लिनुभन्दा पहिला पानी सम्म पनि पिउन दिएनछन । प्रत्यछ्य दर्शिहरुले हामीलाई त्यही कुरा भने । हामीले चालेका हरेक अभियानहरुले आमुल परिवर्तनका दूरगामी लक्षहरुलाई आत्मसात गरेको कुरा अब कसैबाट पनि छिपेको छैन । तर अफ्सोच त्यो महान यात्रमा तिमी हिडेपछी हाम्रो भेट जम्मा १ पटक भयो । म पनि भैरबनाथ गणको ४ महिने कठोर यातना पछि नाफाको जीवन जिउदै छु । हामीले चिनेका थुप्रै साथीहरुलाई त्यहा जल्लाद हरुले एकै चिहान पारे । लामो भला कुसारी गर्नै पाइएन तिमीसँग । भाइ ! तिम्रो अगाडि समाजमा सम्पन्न भएर बस्ने अवसरको कमी थिएन । विकल्प नभएर राजनीतिमा लाग्ने वा लहैलहैमा राजनीतिमा लाग्नेहरूको श्रेणीमा तिमी पर्दै पर्दैनौ । योग्यता र क्षमता को धनी भएर पनि हेपिएका र चेपिएका दिन दुखीहरुको मुक्तीको लागि आफ्नो प्राणलाई बली बेदीमा चढाउने सम्मको हिम्मत तिमीले गर्यौ त्यस्मा हामी गौरब अनुभुती गरेका छौ र गरि रहने छौ ।
सधैं जनताको आँखाको नानी ,विध्यर्थीहरुको प्यारो गुरु,र सहकर्मी हरुको अशल मित्र हुनुका साथै आफ्नो आश्था प्रति पहाड्जस्तै अडिग रहने तिम्रा गुणहरु भावी पुस्ताको लागि समेत मार्ग निर्देशन बन्ने छ।
र ,अन्त्यमा
भावपुर्ण श्रद्धान्जली सहित युगौं युग सम्म तिमि हाम्रो मुटुमा रही रहने छौ। 

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"