सिंह दरबार घेराऊ अझ पेचिलो :कामरेड प्रचण्ड र रेखा नाच्दै


माओवादी अध्यक्ष प्रचण्ड र नायिका रेखा थापा बिहीबार भद्रकालीमा छमछमी नाचे । माओवादीले गरेको पहिलो दिनको सिंहदरबार घेराउ कार्यक्रममा प्रचण्डको नेतृत्वमा भद्रकालीमा भएको धर्नामा प्रचण्ड नायिका रेखाको आग्रह स्वीकार गर्दै उनीसँग कम्मरमा कम्मर मिलाई नाचेका हुन् । नायिका रेखा आन्दोलनको पक्षमा भाषण गर्न उत्रिएपछि आन्दोलनकारीले उनलाई नाच्न अनुरोध गरेका थिए । निकै हुटिङ भएपछि रेखा नाच्न तयार भइन् । तर, उनले प्रचण्डप्रति लक्षित गर्दै भनिन्, 'म सधैँ फिल्मका नायकसँग मात्र नाचेँ । तर, आज देशको असली नायकसँग नाच्न चाहन्छु- उहाँ हुनुहुन्छ, प्रचण्ड । उहाँ मसँग नाच्न तयार हुनुहुन्छ भने म गाउन पनि तयार छु ।' रेखाको यस्तो प्रस्ताव सुनेपछि प्रचण्ड मुसुमुसु हास्दै समकक्षी नेताहरू रामबहादुर थापा बादल, मोहन वैद्य किरणलगायतसँग मुखामुख गर्न थाले । आन्दोलनकारीले प्रचण्ड पनि नाच्नुपर्छ भनेर हुटिङ गर्न थालेपछि उनलाई उठ्न करै लाग्यो । प्रचण्ड आफ्नै शैलीमा मुन्टो हल्लाउँदै फ्लोरमा आए । प्रचण्ड आएपछि रेखाले गाउन सुरु गरिन्, लालुपाते नुह्यो भुइँतिर, कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, माया नलाऊ दुईतिर गीतका तालमा रेखा र प्रचण्ड छमछमी नाचे । नाच्ने क्रममा रेखाले प्रचण्डको कानमा सुटुक्क भनिन्, 'तपाईं पनि गाउनुस् न..।' प्रचण्ड पनि नाच्दै गाउन थाले, 'निश्चित रूपमा लालुपाते नुहुन्छ भुइँतिर...।'सधैँ हिरोहरूसँग नाच्दै आएकी नायिका रेखा पहिलोपटक आफूलाई मनपर्ने नेता प्रचण्डसँग नाच्न पाउँदा निकै हौसिएकी थिइन् । नेता प्रचण्ड पनि देशकी चर्चित नायिकासँग नाच्दा प्रफुल्ल थिए । उनले रेखासँगै ताल मिलाएर नाचे । माओवादी जनयुद्ध सुरु भएदेखि नै प्रचण्ड कस्ता होलान् भन्ने कल्पना गर्ने गरेको बताउने रेखाले उनीसँगै नाच्न पाउँदा आफूलाई निकै खुसी र गर्वानुभूति भएको बताइन् । 'यो दिन सोचेकी थिइनँ,' रेखाले भनिन्, 'माओवादीको कार्यक्रमका लागि अकस्मात निम्तो आयो, गएँ । निकै स्मरणीय भयो ।'नायिका रेखाले उपस्थित आन्दोलनकारीमाझ नागरिक सर्वाेच्चताका लागि माओवादीको गरिरहेको आन्दोलनमा आफ्नो पनि समर्थन भएको भाषण पनि ठोकेकी थिइन् । झन्डै दुई सयको संख्यामा उपस्थित फिल्मकर्मीमा निर्देशक समाजका अध्यक्ष केपी पाठक, निर्देशकहरू युवराज लामा, अशोक शर्मा, दीपक श्रेष्ठ, विमल पौडेल, नायिका मौसमी मल्ल, फिल्म-लेखक मौनता श्रेष्ठ, सुनीलदत्त पाण्डे, निर्माता छवि ओझा, संगीतकार चेतन सापकोटालगायत औपचारिक रूपमै माओवादीमा प्रवेश गरेका फिल्मकर्मी कार्यकर्ता थिए । भद्रकालीमा दुई बजेसम्म सांस्कृतिक कार्यक्रममार्फत धर्नामा बसेका फिल्मकर्मीहरू त्यसपछि माइतीघर मण्डलामा अर्का माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको कार्यक्रममा पनि सहभागी भएका थिए ।

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"