जङ्गी अड्डाबाटै बाँडियो भिडियो

जङ्गी अड्डाबाटै बाँडियो भिडियो
नरेश खपाङ्गीमगर

काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भनाइ समेटिएको विवादास्पद भिडियो टेप नेपाली सेनाको सैनिक मुख्यालयबाटै बाँडिएको पाइएको छ ।
सरकारले रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिबाट हटाउन स्पष्टीकरण सोधेपछि मुख्यालयले सो भिडियो टेप राष्ट्रपति डा. रामवरण यादव, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला तथा संविधानसभामा रहेका विभिन्न राजनीतिक दलका नेताहरूलाई बाँडेको सैनिक स्रोतले गोरखापत्रसँग दाबी गरेको छ ।
यसैगरी सेनाले उक्त भिडियो नेपालस्थित भारतीय राजदूत, अमेरिकी राजदूत तथा विभिन्न कूटनीतिक नियोगमा अङ्ग्रेजी भाषामा उल्थासहित वितरण गरेको नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएको छ ।
कटवाल प्रधानसेनापति रहेका बखत डेढ वर्षअघि एक जनमुक्ति सेनाको सहयोगमा सो भिडियो टेप जनमुक्ति सेनाको शिविरबाट बाहिर ल्याइएको थियो ।
कटवालका तत्कालीन स्टाफ मेजर डिकबहादुर थापाले भिडियो बाहिर ल्याउन जनमुक्ति सेनाका एक उपकमान्डरसित सम्पर्कसूत्रको काम गरेको स्रोतले बतायो । टेप बाहिर ल्याउने योजना सफल पारेबापत मेजर थापालाई कटवालले पुरस्कृत गरेर अहिले संयुक्त राष्ट्रसङ्घीय मिसनअन्तर्गत कङ्गो पठाइएको छ ।
चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजनमा १८ महिनाअघि माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने क्रममा तयार पारिएको भिडियो बाहिर ल्याउन सैनिक मुख्यालयले ती छापामारलाई तीन किस्तामा पैसा पठाएको थियो ।
"उपकमान्डर तहका ती छापामारलाई नेपाली सेनाले मोबाइल फोनसमेत किनिदिएको थियो भने टेप तयारीको सम्पूर्ण जिम्मा डिकबहादुर थापालाई दिइएको थियो", स्रोतले बतायो । थापाले कटवालको सीधा सम्पर्कमा रहेर टेप हात पारेको पनि स्रोतले थप्यो । स्रोतका अनुसार कटवालले त्यतिबेलै जनमुक्ति सेनामा विद्रोह गराउन ती उपकमान्डरलाई प्रस्ताव गर्नुभएको थियो ।
डेढ वर्षअघि प्राप्त भिडियोलाई राष्ट्रपति, राजनीतिक दलहरू, कूटनीतिक नियोग र सञ्चारमाध्यममा लैजानुअघि पि्रन्सिपल स्टाफ अफिसर्स -पीएसओ)को बैठकसमेत बसेको थियो । बलाध्यक्ष कुलबहादुर खड्कालाई नबोलाइएको त्यस बैठकको निर्णयअनुसार नै भिडियो वितरण गरिएको थियो तर भिडियो सञ्चारमाध्यमबाट प्रसारण गर्ने योजना भने सेनाले राष्ट्रपतिलाई सुनाएकोे थिएन ।
भिडियोको सम्पादन तथा वितरण सेनाको मनोवैज्ञानिक अपरेसन कार्य महाशाखाले गरेको थियो । नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्री सो महाशाखाको स्थापनाकालदेखि प्रमुख हुनुहुन्छ ।
स्रोतका अनुसार भिडियोलाई प्राविधिक रूपमा गुणस्तरीय बनाउने काम महाशाखाका कम्प्युटर अपरेटर बालकृष्ण शर्माले गरेका थिए ।
"भिडियो अत्यन्तै रफ थियो, बालकृष्णले त्यसलाई सम्पादन गरेर स्तरीय बनाएका हुन्", स्रोतले भन्यो ।
द्वन्द्वकालमा माओवादीविरुद्ध मनोवैज्ञानिक दुष्प्रचार फैलाउन खडा गरिएको सो महाशाखा अहिले पनि क्रियाशील छ । स्रोतका अनुसार महाशाखाले माओवादीबाट हत्या गरिएका पत्रकार ज्ञानेन्द्र खड्का तथा माओवादीबाट गरिएको बस आगजनीमा मारिएकी बालिका काजोल खातुनका बारेमा पनि भिडियो तयार गरी कूटनीतिक नियोगमा वितरण गरेको थियो ।
पछिल्लो समयमा सो महाशाखाले सैनिक रणनीति र नेपालको प्रतिरक्षा रणनीति पनि तयार गरेको छ ।
बि्रग्रेडियर जनरल रमिन्द्र क्षेत्री, उहाँका सहोदर भाइ कर्णेल रतिन्द्र क्षेत्री, प्रमुख सेनानीहरू विनयविक्रम राणा, सुरेन्द्रसिंह रावल, अनुपजङ्ग राणा र कर्णेल सन्तोषवल्लभ पौडेल सो महाशाखामा कार्यरत हुनुहुन्छ । बि्रग्रेडियर जनरल क्षेत्री र राणाबाहेक अन्य सो विभागमा काजमा ल्याइनुभएको छ । कर्णेल क्षेत्री पूर्वराजा ज्ञानेन्द्रका स्टाफ हुनुहुन्थ्यो भने थापा रेन्जर गणका गुल्मपति, पौडेल गणेशदल गणका गणपति र रावल स्टाफ कलेजबाट काजमा आउनुभएको थियो ।
कटवाललाई सरकारले स्पष्टीकरण सोधेपछि भिडियो बाहिर ल्याइएको थियो । सुरुमा एउटा साप्ताहिकले यही भिडियोबाट समाचार बनाएको थियो । राष्ट्रपति डा. यादवले कटवाललाई प्रधानसेनापतिमै काम गर्न पत्राचार गरेर असंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि यो भिडियोलाई मूलधारका सञ्चारमाध्यमबाट प्रसारण र प्रकाशन गरिएका थिए ।
यसैबीच नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले हेडक्वाटरबाटै टेप बाँडिएको कुरा 'महागलत' हो भन्नुभएको छ । उहाँ भन्नुहुन्छ, "यो प्रचारको स्रोत आधिकारिक होइन, हावादारी हो ।"

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन