नेपाली कांग्रेस कति अग्रगामी ? समानान्तर : डा. बाबुराम भट्टराई
पुरानो अंक
- लोकतान्त्रिक बोतलमा प्रजातन्त्र ? प्रसंगवश सुशील गौतम
- नेपाली कांग्रेस कति अग्रगामी ? समानान्तर : डा. बाबुराम भट्टराई
- डाइमन्ड कट्स डाइमन्ड देशकाल : किशोर नेपाल 2008-12-26,Friday
नेपाल ठूलो संक्रमणकालबाट गुजि्ररहेको छ । यस्तो कालखण्डमा कुनै पनि राजनीतिक दलले कस्तो भूमिका खेल्ने हो भन्ने जिज्ञासा सबैमा छ । ६-७ दशकदेखि नेपालमा सामन्तवादविरोधी, साम्राज्यवादविरोधी लोकतान्त्रिक, जनवादी वा गणतान्त्रिक आन्दोलन चल्दै आएको छ । यसै क्रममा नेपाली समाजमा दुइटा धार देखापरेका छन् । एउटा शासकवर्गभित्रकै सुधारवादी ढंगले परिवर्तन गर्नुपर्छ भन्ने धार हो । यस्तो सुधारवादी शक्ति कुनै पनि समाजमा हुन्छ । नेपालमा यस्तो शक्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । दोस्रो धार समाजमा आमूल परिवर्तन वा क्रान्तिकारी फेरबदल गर्नुपर्छ भन्ने हो । यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्दै आएको छ । नेपालको साठी वर्षको मुख्य राजनीतिक धार यिनै दुई धारका रूपमा आएका छन् । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको चरणसम्म आइपुग्दा पहिलो धार अर्थात् शासकवर्गभित्रका उदारवादी र सुधारवादी शक्तिले आप\mनो भूमिका करिब-करिब पूरा गर्‍यो र त्यसले अब नेतृत्वदायी भूमिका खेल्नसक्ने अवस्थामा पनि रहेन । त्यसैले संविधानसभासम्म आइपुग्दा त्यसको नेतृत्व गरिरहेको कांग्रेस दोस्रो स्थानमा झर्‍यो भने कम्युनिस्ट क्रान्तिकारी पहिलो र अग्रस्थान ओगट्न सफल भए । त्यसले देखायो ः नेपालमा अब सुधारवादी परिवर्तनको चरण पूरा भयो अनि क्रान्तिकारी र गुणात्मक परिवर्तनको आवश्यकता बढेको छ । त्यस्तो परिवर्तनको नेतृत्व नेकपा माओवादीको अगुवाइमा सम्पूर्ण वामपन्थी, देशभक्त र क्रान्तिकारीले गर्नुपर्छ भन्ने तथ्य स्थापित भएको छ । यही तथ्यलाई बुझ्ने-बुझाउने सवालमा भने समस्या देखिएको छ । यसै सन्दर्भमा नेपाली राजनीतिमा चलिरहेको विमर्शमा प्रश्न उठेको छ ः अब कांग्रेसको भूमिका कस्तो हुन्छ ? कांग्रेसको निश्चित वर्गीय आधार भएकाले त्यो शक्ति समाप्त नै भएर जानेछ, त्यसको कुनै भूमिका नै रहनेछैन ः यस्तो हाम्रो विश्लेषण हुन सक्दैन, यो ऐतिहासिक भौतिकवादी मूल्यांकन पनि हुन सक्दैन । कांग्रेसले मूलतः दलाल नोकरशाह पुँजीपति वर्ग र सामन्त वर्गको उदारवादी हिस्साको प्रतिनिधित्व गर्छ । उसलाई निम्न-पुँजीपति वर्गको पनि उल्लेख्य हिस्साको साथ छ । जबसम्म समाजमा ती सबै वर्गको अस्तित्व रहन्छ, तबसम्म कांग्रेसको अस्तित्व रहन्छ र त्यसको भूमिका बाँकी रहन्छ । यो तथ्यलाई कसैले पनि नकार्न मिल्दैन । मुख्य प्रश्न अस्तित्व र भूमिकाको होइन, राजनीतिक नेतृत्वको मात्रै हो, कसले यस्तो नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ भन्ने नै हो । अबको स्थितिमा नेतृत्वदायी भूमिका ती वर्ग र तिनको राजनीतिक दलले गर्न सक्दैनन् । अब समाजमा आमूल परिवर्तनको नेतृत्व सर्वहारा वर्गदेखि लिएर राष्ट्रिय पुँजीपति वर्गजस्ता प्रगतिशील वर्गको राजनीतिक अगुवाइ गर्ने नेपालका कम्युनिस्ट पार्टी नै गर्नुपर्छ र सहयोगी भूमिका कांग्रेसलगायत अरू दलले खेल्नुपर्छ । मेरो यही यथार्थवादी प्रस्थापनामाथि कांग्रेसका नेता प्रदीप गिरीजीले स्वागतयोग्य बहस सार्वजनिक रूपमा चलाउनुभएको छ । उहाँले आप\mनो दृष्टिकोणअनुसार तर्क गर्ने क्रममा सुरुमै चस्माको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले संसारलाई हेर्ने र व्याख्या गर्ने भनेको आ-आप\mनो दृष्टिकोणअनुसार नै हो र त्यस्तो दृष्टिकोण भनेको एक अर्थमा चस्मा नै हो । मानवजातिको विकासक्रम सँगसँगै सामाजिक प्रणाली र चेतनास्तर पनि विकास हुँदै आएको छ । अतः यो दुनियाँलाई मानिसले तिनै चेतना र दृष्टिकोणको चस्माले नै हेर्ने हो । प्रदीप गिरीजीले जुन वर्गको प्रतिनिधित्व गर्नुहुन्छ, त्यही वर्गको चस्माले हेर्नुहुन्छ, हामी कम्युनिस्टले जुन वर्गको प्रतिनिधित्व गर्छाैं, त्यही वर्गको चस्माले दुनियाँलाई हेर्छाैं । त्यस अर्थमा सबैले दुनियाँलाई वर्गीय चस्माले नै हेर्ने र व्याख्या गर्ने उहाँको भनाइ ठीक हो । र, त्यसै कारण हामीबीच मतान्तर रहेको तथ्य पनि विल्कुल सत्य हो । दुनियाँमा विभिन्न अन्तरविरोधी वर्ग छन् भने ती वर्गले आप\mनो वर्गीय हित र स्वार्थअनुसारको विश्वव्यवस्था ल्याउन खोज्नु र त्यसैको निम्ति संघर्ष गर्नु कुनै अस्वाभाविक कुरा होइन । अतः हेर्ने चस्मा र गरिने संघर्षका बीचमा फरकपना देखिनुलाई अन्यथा मान्न सकिँदैन । जहाँसम्म उहाँले कांग्रेेसले अब पनि राजनीतिमा नेतृत्वदायी भूमिका खेल्न सक्छ भन्ने जुन जिकिर गर्नुभएको छ, त्यो भने ऐतिहासिक भौतिकवादविरोधी देखिएको छ । इतिहासलाई आप\mनो इच्छा-आकांक्षा, आग्रह-पूर्वाग्रहबाट भन्दा पनि वस्तुगत आवश्यकता र नियमअनुसार विश्लेषण गर्नुपर्छ । इतिहासको विकासक्रम र राजनीतिक दलहरूको विकासका आप\mनै नियम हुन्छन्, आप\mनै वर्गीय आधार र सामाजिक पृष्ठभूमि हुन्छन् । त्यसैअनुसार उसले आप\mनो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अतः इतिहासको आवश्यकता पूरा गर्न सकिएन भने, इतिहासको प्रवाहसँग तालमेल गर्न सकिएन भने कसैले चाहँदैमा नेतृत्वदायी भूमिका खेल्न सक्ने होइन । कांग्रेस इतिहासमा पछाडि परिसकेको पश्चगामी सोच राख्ने वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकाले उसले अग्रगामी परिवर्तनको नेतृत्व गर्न सक्दैन । यस अर्थमा कांग्रेसका बारेमा हामीले गरेको ऐतिहासिक भौतिकवादी विश्लेषण सही छ । जहाँसम्म कम्युनिस्ट, विशेषतः नेकपा माओवादीका कथनी र करनीमा अन्तर रहेको उहाँको विश्लेषण छ, हामीलाई त्यस्तो फरक लाग्दैन । हामीले जे भनेका छाँै, त्यही गरेका छौँ । हामीले भनेअनुसार नै सामन्तवादको मूल नाइके राजतन्त्रको अन्त्य गरी देशलाई गणतन्त्र स्थापनाको अवस्थासम्म पुर्‍याएका छाँै । तर, राज्यको समग्र पुनर्संरचना गर्ने, अग्रगामी आर्थिक-सामाजिक रूपान्तरण गर्ने प्रक्रिया भने बाँकी नै छ । यो अवस्थामा सर्वहारावर्गको नेतृत्व गर्ने दलको नाताले समाजका राष्ट्रिय पुँजीपति वर्ग र अन्य अग्रगामी तह र तप्काको हितलाई समेत संयोजित गर्दै अगाडि बढ्नुपर्ने दायित्व हामीमा छ । अतः मूल रणनीतिक उद्देश्यमा दृढ रहँदै कार्यनीतिमा हदैसम्मको लचकता देखाउँदै जाने क्रममा हामीले विभिन्न वर्गलाई समेट्ने खालको लचिलो नीति पनि अपनाउँदै आएका छौँ । त्यसैले माओवादीको रणनीतिक दृढता र कार्यनीतिक लचकतालाई द्वन्द्ववादी ढंगले बुझ्न नसक्दा हाम्रो भनाइ र गराइमा अन्तर आएजस्तो कसैलाई लाग्न सक्छ, जुन यथार्थ होइन । मुख्य सिद्धान्त र रणनीतिक लक्ष्यमा दृढ रहँदै तत्कालीन कार्यनीतिका हिसाबले सबै राजनीतिक शक्तिलाई समेट्दै अगाडि जाने क्रममा हामीले लचिलो व्यवहार गर्दै आएका छौँ । यही कारण सानो शक्तिबाट विशाल राष्ट्रिय आन्दोलनका रूपमा विकास भएको हो माओवादी आन्दोलन । आगामी दिनमा पनि जबसम्म सामाजिक, आर्थिक र राजनीतिक आमूल परिवर्तन पूरा हुँदैन, जबसम्म संविधानसभामार्फत राष्ट्र र जनताको पक्षमा अग्रगामी संविधान लेखिँदैन, राज्यको संघात्मक ढाँचामा पुनर्संरचना गरिँदैन, सुरक्षा संयन्त्रको पुनर्संरचना र लोकतान्त्रीकरण गरिँदैन, तबसम्म संघर्षको अवस्था रहिरहन्छ । त्यो संघर्षको स्वरूप फरक-परक हुन सक्छ । हिजो जनयुद्ध वा सशस्त्र संघर्षको मोर्चा प्रधान मोर्चा थियो भने आज बदलिएको सन्दर्भमा सरकार, सदन र सडक संघर्षको मोर्चा प्रधान भएको छ । यी तीनवटै मोर्चालाई संयोजित गरी अगाडि बढ्न सकेमा मात्रै वर्तमान परिवर्तनलाई सुनिश्चित गर्न सक्छौँ भन्ने मान्यता हामीले अगाडि सारेका छौँ । त्यसैले आगामी दिनमा माओवादीले यी तीनवटै मोर्चालाई संयोजित गरी परिवर्तनलाई सुनिश्चित गर्ने राजनीतिक भूमिकाको नेतृत्व गर्नुपर्छ र गर्न सक्छ, यसमा कसैमा पनि द्विविधा हुनु जरुरी छैन । यस्तो कार्यमा कांग्रेसजस्तो पार्टीले सहयोगी भूमिका खेलोस् भन्ने राष्ट्रको आवश्यकता र हाम्रो चाहना हो । कांग्रेसलाई पूरै निषेध गरेर अगाडि बढ्ने हाम्रो कार्यनीति रहेको छैन । ऊ आफँैले अग्रगामी भूमिका खेल्न सकेन, यथास्थितिवादी वा पश्चगामी सोच राख्दै बस्यो भने संघर्ष अलि जटिल भएर पनि जान सक्छ । खासगरी पछिल्लो चरणमा हिजोका कट्टर यथास्थितिवादी शक्ति र अत्यन्त पुरानो सोच बोक्ने पश्चगामी राजावादी तत्त्वहरूलाई लोकतन्त्रवादीको नाममा साथ लिएर जाने, तिनीहरूसँग 'प्रजातान्त्रिक मोर्चा' बनाउने र कम्युनिस्ट क्रान्तिकारीविरुद्ध नयाँ मोर्चाबन्दी गर्नेजस्ता कथन र व्यवहार कांग्रेस वृत्तबाट प्रकट हुन थालेका छन् । यस्ता भनाइ र गराइबाट शुभसंकेत प्राप्त भएको छैन । कांग्रेसले आप\mनो भूमिकालाई सुनिश्चित गर्ने हो भने उसले अग्रगामी शक्तिलाई सहयोग गर्ने भूमिका खेल्नुपर्छ । यथास्थितिवादी र पश्चगामी शक्तिसँग मिलेर उसले अग्रगमन र क्रान्तिकारी परिवर्तनलाई रोक्ने कुचेष्टा गर्छ भने उसले आप\mनै खुट्टामा आफँैले बन्चरो हानेको ठहरिनेछ । हामी चाहन्छौँ, त्यस्तो दुष्कर्म कांग्रेसबाट नहोस् । फेरि पनि कसैको चाहनाबाट कांग्रेस वा अरू दल निर्देशित हुँदैनन् । यथार्थ के हो भने कुनै पनि राजनीतिक दलले खेल्ने भूमिका भनेको आप\mनो वर्गीय स्वार्थ र सोचद्वारा नै निर्देशित हुन्छ । यतिखेर नेपाली कांग्रेसले आफू अग्रगमनको पक्षमा छु कि यथास्थिति र पश्चगमनको पक्षमा छु भन्ने निर्णय गर्ने बेला आएको छ । जहाँसम्म माओवादीको प्रश्न छ, हामी सम्पूर्ण देशभक्त, जनवादी, वामपन्थी, लोकतान्त्रिक शक्तिलाई समेटेर अग्रगमनलाई सुनिश्चित गर्नुपर्छ भन्ने पक्षमा छौँ । अग्रगमनको एजेन्डाको पक्षमा कसैसँग पनि सम्झौता हुन सक्दैन । अग्रगमनको एजेन्डा लागू गर्न कांग्रेसलगायत जो-कोहीसँग हातेमालो गर्न पनि हामी तयार छौँ । तर, कसैले अग्रगमनलाई रोक्न खोज्छ, देशलाई पश्चगमनतिर धकेल्ने प्रयास गर्छ भने त्यस्ता शक्तिसँग संघर्ष अनिवार्य हुन जान्छ । यही हो माओवादीको स्पष्ट अडान, यसमा कथनी र करनीका बीच कुनै भिन्नता देख्नुपर्ने स्थिति छैन ।

Comments

Post a Comment

Thank you for your comment.....

HamroGanaTantra.Blogspot.com

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"