बिश्णुजी , तपाइँ भगवान संग नबस्नु होला

बिश्णुजी , तपाइँ भगवान संग नबस्नु होला  

अब कहिल्यै भेट घाट नहुने मान्छेको संस्मरण लेख्ने काम मलाइ निकै कठिन लाग्छ । बाँचुन्जेल जसले आफ्नो जीवनका सबै अमुल्य कमाईहरु समाजलाई दियो , परिवारलाई दियो, र आँफु जन्मेको माटोलाई दियो त्यो क्षण निकै महत्वपुर्ण हुन्छ। कसैले पनि  जीवनको हराभरापुर्ण समयमा मृत्युको कल्पना गरेको हुँदैन र गर्नु पनि हुँदैन। जीवनको अन्तिम घडी सम्म पनि बिष्णु पौडेलले भविष्यका योजनाहरु सुनाउनु हुन्थ्यो। रसिला कुराहरु गर्नु हुन्थ्यो र उहाँको स्वास्थ्य अवस्था देखेर चिन्ता ब्यक्त गर्ने हामीहरुलाई समेत उल्टै ढुक्क पारेर फर्काउनु हुन्थ्यो। त्यस्तो उच्चतम साहस र मनोबल थोरैमा मात्र हुन्छ भन्ने मलाइ लागेको छ। 
सायद इ स २००९ को फेब्रुवरी महिनाको अन्त्य तिर  हुनु पर्छ , कोपन्हेगनको सेन्ट्रल स्टेशनमा उहाँ संग पहिलो जम्का भेट भएको थियो। उहाँ एक जना अर्को साथि संग कुरा गर्दै हिड्नु भएको रहेछ। हतारिंदै रेल समाउन दौडेको थिएं म , कसैले नेपाली बोलेको सुन्ने बित्तिक्कै नमस्कार भन्दै बोल्ने बहाना गरियो। म रोस्किल्डेमा बस्ने हुँदा प्राय नेपालीहरु फेला पार्न मुस्किल हुन्थ्यो। बिष्णु जी र उहाँ संग आउने अर्को साथी संग परिचय गरियो। अर्को साथी प्रेम जी।अर्थात  प्रेम चन्द्र भण्डारी उहाँको बहिनी ज्वाईं हुनु हुँदो रहेछ। रेल छाडेर झन्डै २० मिनट गफ गरियो।छोटो समसामयिक राजनीतिक बिषयमा समेत कुरा कानी भयो। पहिलो भेटमा म निकै प्रभावित भएँ। यस्तो परिपक्व र मिजासिलो मान्छे मैले डेनमार्कमा त्यतिबेला सम्म अरु भेटेको थिइन।  कोपनहेगनको सेन्ट्रल स्टेशन त्यतिबेला नेपालीहरु बीच भेटघाटको प्रमुख थलो थियो। २००६/००७ तिर कति बिध्यार्थिहरु कोठा पाउन समस्या भएको कारणले ट्रेन स्टेशनमै रात बिताएर भोलि पल्ट कलेज जाने गर्थे। आफ्नो समुदायको अहिले जस्तो सरल नेट वोर्क बनि सकेको थिएन।सामाजिक संजालको पहुँच पनि अहिले जस्तो सहज थिएन।  संसारमा जहाँ पुगे पनि शुरुवातका दिनमा दुख सुख गुल्जारा चलाउन,भोज भतेर गर्न, झगडा गर्न,राजनीति गर्न, समाज सेवा गर्न दलाली गर्न मान्छेलाई आफ्नै समुदायको जरुरत पर्ने रहेछ ।

पछि फेरी भेट गरौंला है भन्दै मोबाइल न. आदान प्रदान गरि बिष्णु जी संग त्यस दिन बिदा भैयो। त्यस पछि उहाँ संग अलि समय भेट हुन सकेन। कहिले काहीं विद्युतीय सम्पर्क भने जारि नै रह्यो। सन् २००९ को मे महिनामा म रोस्किल्डे बाट सपरिवार कोपन्हेगन सरे पछि विभिन्न सामाजिक गतिविधिहरुमा उहाँ संग भेट घाट बाक्लै भै रह्यो। आफ्ना कुरालाई स्पष्ट संग नलुकाई भन्ने उहाँको स्वभाव र कुराकानिका दौरानमा बेला बखत हाँस्य रस मिसाउने बिष्णुजीको स्वभाव थियो। सरल मिजास र आफ्ना उमेर समूहमा मात्र होइन कि साना देखी पाका उमेरका संग पनि उत्तिकै मित्रता प्रगाढ बनाउन सक्ने उहाँमा अचम्मको खुबी थियो। उहाँ सामान्य प्रगतिशील बिचारधारा पक्षधर मात्र नभएर नेकपा एमालेको राजनीतिक लाइनमा आबद्ध हुनुहुदो रहेछ। यो कुरा उहाँ संगको प्रत्यक्ष सम्बादमा २०११ को कृष्ण जन्मास्टमीको दिन मलाइ थाहा भयो।  त्यस दिन श्रीमतीको साथी बन्दै म युरोपियन मुलका कृष्ण प्रणामीहरुले संचालन गरेको कोपन्हेगनको भ्यान्लुसमा अवस्थित कृष्ण मन्दिरमा पुगेको थिएँ। उहाँ पनि मै जस्तो बाल बच्चा बोकेर त्यहीं टक्रक्क पुगी सक्नु भाको रहेछ। शिला बैनी संग शुरुमा भेट भयो।  ''खैत बिष्णु जी आउनु भएन ? '' मैले सोध्न नपाउदै बिष्णु जी त्यहिं टुप्लुक्क आइ पुग्नु भयो। महिलाहरु हरे राम हरे कृष्ण भजन सुन्न भित्र पसे। बच्चाहरु प्रसाद खाने ठाउँ तिर लागे अनि उहाँ र म बाहिर निस्केर अन्तरंग छलफलमा लागियो। छलफलको बिषय बस्तु राजनीति रह्यो। कपिलबस्तुमा रहंदा उहाँ पार्टीको जिम्मेवार ठाउँमा बसेर भूमिका निर्बाह गर्नु भएको लगायत अन्य केहि राजनीतिक प्रश्नमा खुला कुराकानी भयो। नेकपा माओबादीका धेरै राजनीतिक मुद्दा संग उहाँ सहमत रहे पनि केहि केन्द्रिय सवालमा बिमत्ति  प्रकट गर्नु भयो। मैले उहाँलाई नेकपा माओबादी संग केहि बिमत्तीहरु हुँदा हुँदै पनि प्रगतिशील वा बौद्धिक मोर्चाहरुमा संगै बसेर काम गर्न सकिन्छ भन्ने सम्मको प्रस्ताव गरें। बिचार गरौंला भन्नु भयो तर उहाँमा एउटा छुट्टै प्रकारको परिपक्व राजनीतिक सुझबुझको बिकास भै सकेको कुरा छलफलमै मैले बुझें र पछि त्यस्तो प्रस्ताव गरिन। त्यस पछिका दिनहरुमा उहाँ राजनीतिक भूमिकामा भन्दा सामाजिक भूमिकामा बढी देखिनु भयो। 

राजनीतिक चेत र सामाजिक भूमिका बाहेक उहाँ भित्र नेपाली साहित्यले दह्रो संग जरा गाडी सकेको कुरा भने मैले अलि पछि गएर मात्र थाहा पाएँ। कुनै एउटा मान्छे भित्र के कुरा लुकेको छ भन्ने कुरा खास बातावरण श्रीजना नभए सम्म थाहा पाइने कुरा रहेन।  मकैको बिउ टुसाउन पनि पानि पर्नु पर्छ। साहित्य श्रीजना हुनको निम्ति पनि बिदेसको बसाइ त्यस माथि बिद्यार्थी, काम,कलेजको फी अनि परिवार। कति बेला सोच्ने हो साहित्य ? पिपलको बिउ ढुंगाको कापमा परे पनि कहीं कतै बाट नपलाई छाड्दैन भने जस्तै समय क्रममा बिष्णुजीले आँफु भित्रको साहित्य जिवितै रहेको प्रमाण हामीलाई दिएर जानु भएको छ। म आँफु साहित्यको रचना गर्न सक्दिन तर बुझ्ने भएकोले मलाइ साहित्यमा निकै चासो लाग्छ। 
खेलकुद (बिशेष गरेर भलिबल ) पछि नेपाली साहित्यको डोरीलाई पनि कोपन्हेगनामा कसिलो बनाएर लैजाने सोंचलाई जीवन्त बनाउने बिष्णुजीको चाहनामा भने बीचैमा नराम्रो संग ठेस लागेको अनुभूति उहाँका पछिल्ला अभिव्यक्तिहरुबाट बुझ्न सकिन्छ। सामान्य अवस्थामा पनि छिटफुट साहित्य श्रीजना गरि रहने र फेसबुकको मेसेंजरमा ''सर मैले यस्तो लेखें के कसो भए होला ,यसो फुर्सद मिलाएर हेर्नु होला है। अनि काँट छाँटको अपेक्षा गरेको छु है। यसरि लेखेर पठाउनु हुन्थ्यो। पछिल्लो पटक उहाँ अलि गलि सक्नु भएको थियो। साथीहरुले आफ्नै स्वास्थ्यको बारेमा धेरै चासो ब्यक्त नगरुन बरु गीत कविता वा आगामी समरको भलिबलको बिषयमा चर्चा गरुन भन्ने उहाँले सोच्नु हुन्थ्यो। त्यो मानो बिज्ञान बुझी सकेपछि मैले एक पटक उहाँको घरमा भेट जाँदा हात मिलाई सकेपछि , बिष्णु जी अब ''४० कटेका बिदेस पसेका'' भन्ने एउटा टीम दर्ता गरौँ भन्ने प्रस्ताब राखें। साह्रै खुशी हुनु भयो। ल मान्छे म खोज्छु भनि हाल्नु भयो। त्यो दिन भलिबलको मात्र गफ गरियो। बिरेन्द्र च्यालेन्ज शिल्ड प्रतियोगीतामा पर्बत जिल्लामा २ पटक सम्म जिल्ला स्तरिय खेल खेलेको हो म पनि भनेर उहाँलाई मैले खेलाडीमा नाम दर्ज गराउन भने।  निकै खुशी हुनु भयो। ल अब  ''४० कटेका बिदेस पसेका'' एउटा टीम बन्छ ढुक्क हुनुस भन्नु भयो। बिदा भैयो त्यस दिन। 
बास्तबिक समस्या झन् जटील हुँदै थियो। शरीर उहाँको करिब करिब लठ्ठीइ सकेको थियो। हात खुट्टा कक्रक्क हुँदै थिए। त्यो अवस्था सम्म पुगी सक्दा पनि कुनै पनि मान्छेमा त्यस खालको र त्यो स्तरको आत्म विश्वास जाग्नुलाइ मैले बिरलै मात्र हुने घटना मानेको छु। जुन  कुरा अपवादमा मात्र हुन सक्छ।  सामान्य ज्वरो २/४ दिन आउँदा पनि धेरै मानिसहरु आत्तिने पिल पिल गर्ने छोरा छोरीको मुखमा हेरी रहने ,टोलाउने गर्छन। अब मेरा साथीहरु आउछन , अनि मेरै औषधी पानी  र उपचारको मात्र कुरा कोट्याउने होलान भनेर कता कता मनमा खिन्नताको भाव ब्यक्त गरेको एउटा कविता उहाँले मलाइ पठाउनु भएको थियो। श्रीमती सहित म  एक दिन बिहानै आठ नबज्दै उहाँको घर पुगियो। यस भन्दा अघिल्लो शनिबार आउंछु भनेको थिएँ।  कहाँ के परेछ जान सकिएन।  अरु दिन प्राय हरेक शनिबार जाने गर्थें म उहाँ बिमारी भए पछि। सके सम्म उहाँको स्वास्थ्यको कुरो गरेर दिक्क पार्नु भन्दा अन्य बिषयमा धेरै कुरा गरियो। अनि २ घण्टा जति बसेर फर्कियौं हामी। सायद त्यसै दिनको भोलि पल्ट बिहानै मोबाइलमा मेसेज बज्यो।  हेरेको बिष्णुजीले लेखि पठाउनु भएको रहेछ जुन प्रसंगमा हामि भेट गर्न गएकै सन्दर्भ जोडेर लेखेको भन्ने बुझियो। ।  जुन यस्तो छ : ‘’ कुरा धेरै हुने होलान ,प्रस्ट बोल्न सकिन भने ,साथीलाई बोर होला,सांकेतिक भाषा त्यति जान्दिन ,जे होस् हिम्मत कसे, झट्ट हार मान्नेमा ,आफुलाई ठान्दिन ।’’ यसलाई मैले जस्ताको तस्तै मोबाइल बाट सारेको छु।  

यो कस्तो छ सर ?
पोस्ट गरेको छैन

मेरो मौन साथी
´´´´´´´´´´´´´´´´
मन मन गदगद थिए                    
आज धेरै दिन पछि
मज्जाले मनको बह बिसाउछु 
केहि विरक्ति कम गर्छु 
प्रफुल्लित हुदै 
आत्मबल बढाउछु ,अनि भन्छु 
बुढी आज म धेरै फ्रेश भए
तर समयले अर्कै मोड लियो
धेरै दिनमा साथी भेटे
देखेरै खुसि लाग्यो 
मन मनै आत्तिए
सोचे
कुरा धेरै हुने होलान 
प्रस्ट बोल्न सकिन भने 
साथीलाई बोर होला 
सांकेतिक भाषा त्यति जान्दिन 
जे होस् हिम्मत कसे 
झट्ट हार मान्नेमा
आफुलाई ठान्दिन 
हस्त मिलान भयो 
फेरी घोत्लिए 
कुरो को चुरो 
कसरि काहाबाट शुरु होला 
मलाई भन्न मन लागेका '
धेरै कुराहरु छन् 
साथीले कुन प्रसङ्ग उठाउला 
सोचे, उसको पहिलो प्रस्न 
कस्तो छ आजकल?नै हुनेछ 
अनि म औपचारिक भाषामा ठिक छ भन्थे 
अनि मेरो उपचार प्रक्रियामा भएका 
सप्पै कुरा एक एक सोधिनेछन
मैले पनि नजिकको मित्र संग
खुबै बेलिबिस्तार कस्ने छु 
अनि मनलाई चंगा पार्नेछु
अरु साथी पनि थिए 
भाउजुले मिठो चिया खुवाउनु भो 
मलाई उहा संग पनि डर थियो 
केहि त पक्कै सम्बाद हुनेछ 
परिवार देखि आफ्नो बेलिबिस्तार लगाउदा 
बुझाउन सकिन भने,
तर अपसोच 
मलाई त्यो झन्झट आइलागेन
म शान्त रहन पाए 
एक सब्द बोल्नु परेन मलाई 
सायद दम्पत्ति म पर्ति 
निकै संबेदनसिल भैदिए 
मलाई अप्ठ्यारोमा पार्न चाहेनन् 
बिलक्षण प्रतिभाका छन् दुवै 
अति शोम्य सरल 
बोलिहाले भने मिर्दुभाषि पनि हुन् 
अति व्यावहारिक र मित्रवत 
जे होस् उनीहरुले मलाई 
ठुलै गुण लगाए 
नसकी नसकी बोल्नु परेन 
कम्तिमा काम्दै हिडेपनि 
थाम्दै बोल्न परेन 
एक दुइ घन्टामै 
बसाइ टुङ्गाइयो 
आखा समेत नजुदाई 
बिदा पाए 
अनि साथीको वाहनमा 
घर आए 
अनि बुढीलाई सुनाए 
आज मलाई धेरै सजिलो भो
किनकि म एक सब्द पनि बोल्नु परेन 
बुडी झन् दङ्ग 
कति आनन्द 
४ अप्रिल २०१७ (प्रातः ०४.59

सम्भवत: सन् २०१४ को मार्च हुनु पर्छ।  एका बिहानै मोबाइलमा घन्टी बज्यो। यसो हेरेको बिष्णुजीको रहेछ।  कुरा भयो।  १० बजे १ जना साथी लिएर चिया पिउन आउंछु हुन्छ नि ? भनेर सोध्नु भयो। हुन्छ आउनुस भनेर मैले स्वीकृति जनाएँ। १० बजे तिर दीपक सापकोटा र उहाँ आउनु भयो। चियाको पानी उम्लन नपाउंदै बिष्णुजीले लामो फेहरिस्त सहित एन आर एन को चुनाबमा दीपकजीलाई सबैले सहयोग गरौँ भन्ने प्रस्तावलाई टेबल गर्नु भयो। दीपकजी अलि रिजर्व स्वभावको मान्छे सरको व्यक्तिगत सहयोगको अपेक्षा गर्छु मात्र भन्नु भयो। दीपकजीलाई सहयोग गर्नु पर्ने ३/४ वटा कारण पनि छन् भन्दै बिष्णुजीका तर्कहरु पुन: प्रकट भए। लामो छलफल भयो। यद्यपी टुंगोमा पुगी हाल्ने भन्ने तत्काल आजै सम्भव छैन भनेर मैले उहाँहरुलाई बिदा गरें। घर बाट निस्की सके पछि पनि मोबाइलमा बिष्णुजीका मेसेजका घन्टीहरु बजी रहे। केहि दिनको सबै साथीहरुको सहमति बाट दीपकजीलाई गैह्र आवासीय नेपाली संघ डेनमार्कको अध्यक्षको उम्मेदवारको रुपमा सहयोग गर्ने निर्णय भयो र निर्बाचन बाट उहाँ अध्यक्ष पनि बन्नु भयो। कुनै काममा लागे पछि त्यसलाई जसरि पनि फत्ते बनाउने र आँफू  संग  मन नमिल्नेहरु संग पनि अति मिठो कुरा गरेर सहयोग गर्ने बनाउन सक्ने खुबी थियो बिश्णुजीको। बिष्णु पौडेलको आन्तरिक दौड धुप र साथी भाइ संगको अन्तरघुलनले  तत्कालिन गैह्र आवासीय नेपाली संघको निर्बाचनमा  बाहिरि अनुमान भन्दा बिलकुल फरक प्रकारको निर्बाचनको नतिजा आयो। 

 बिष्णुजीका बच्चाहरु, शिला र अन्य २ जना जति महिलाहरु हस्पिटलको कोठामा थिए। म भित्र पसें। शिला संग अनुहार जुध्यो। मलाई नै असहज लाग्यो। अरु दिन भन्दा आज शिलालाइ मैले निकै बेचैन देखें। ´बिश्णुजीको कपडा यसो पन्छाएर खुट्टा छामे।  निधार छामे। अघिल्लो दिन सम्म निधार छाम्दा पुर्लुक्क हेरेर केही भन्न खोजेका आँखा आज अनायास बन्द थिए। निस्प्राण जस्तै।  अक्सिजनको पोको मुखमै थियो।  घडीले मन्द गतिमा टिक टिक गर्दै थियो। झन्डै १५ जना जति साथीहरु कति बेला के पर्छ भन्न सकिन्न भन्दै बाहिरै बसी रहनु  थियो। हस्पिटलमा नेपालीहरुको निकै बाक्लो आउ  जाउ देखेर होला एक जना नर्सले सोदिछन् , 'के यो मान्छे नेपालको पहिलाको मिनिस्टर हो ?' हुन पनि हामी नेपालीहरुको मुख्य बिशेषता भनकै कसैलाई पर्यो भने पछि एक जुट भै हाल्ने।  अघि पछि पार्टी राजनीति भनेर झगडा गरे पनि दुख: बिमार गाह्रो साह्रो पर्यो भने सबैले पार्टी बिर्सने।  संसारमा यस्तो जाती कहाँ होला ? झन्डै एक हप्ता जति बिष्णुजी पछिल्लो पटक कोपन्हेगन स्थित Bispebjerg हस्पिटलमा रहनु भयो। प्रत्येक  दिन जसो भेटघाट गर्न जाने नेपाली दाजुभाइहरुको लर्को चलि रह्यो। युरोपमा यहाँ रैथानेहरु पनि बिरामी हुन्छन तर उनीहरु बसेको कोठामा सुन सान हुन्छ। कहिले काहीं १-२ जना भेट्न गै हाले भने बिमारी भएर हस्पिटल बस्नेले त्यो कुरा पछि सम्म चर्चा गर्छ। धेरै जसो बुढा बुढीहरु  यहाँ अस्पतालको ओछ्यानमा बसेर एक्लै बोलि रहेको सुनिन्छ। '' मेरी छोरी हिजो मलाइ भेट्न आई।  उसको सानी छोरी पनि छ।  फुल लिएर आएकी थिई , हेर त कति राम्रो छ '' भन्दै फुलको बुके देखाइन एक पटक मलाइ एक जना ९४ बर्षे बुढी आमैले अस्पतालमा । राज्यले हेर्ने ,खर्च पर्चको जोहो पनि परिवारका सदस्यले गर्न नपर्ने हुँदा बुढा बुढी  असाध्यै नियास्रो मानि रहन्छन यूरोपमा। पारिवारिक माया ममता बाट ताढिए पछि बिभिन्न सामाजिक समस्याहरु आउँदा रहेछन। यसको मानो बैज्ञानिक असरको पाटो झन् कहाली लाग्दो छ।  करिब ५ मिनट पछि बाहिर बाट ४-५ जना साथीहरु आउनु भयो। हामि सबै चुप चाप  जस्तै थियौं। आवाज अक्सिजनको घडीको मात्र एक नास संग आइ रहेको थियो। साथीहरु तुरुन्तै बाहिरिनु भयो। शिला धेरै दिन देखी खाना नखाएर पनि होला अलि निकै कमजोर जस्तो देखें मैले।  एक जना बहिनी संग शिलालाइ यसो केहि ख्वाउन पाए हुन्थ्यो भनें।  खै केहि पनि खान मान्नु हुन्न भनिन उनले। म यस्सो त्यो कोठा बाट बाहिरिएर अर्को बिश्राम कोठा तिर जाँदै थिएं। बिश्णुजीलाई राखेको कोठामा अलि चर्को खलबली सुनें। दौडिदै जाँदा अक्सिजनको पोको मुखमै फ़्वास्स भै सकेछ। बिष्णुजीले महा प्रस्थान गरि सक्नु भएछ भन्ने प्रस्ट भयो।  घडीले रातो बत्ति बलेको संकेत गरि सकेछ। नर्स दौडिदै आइन र अक्सिजनको माक्स हटाइन। घडी बन्द गरिन।  रुवा बासि चलेकै थियो। अलि ढिलै पनि भै सकेको रहेछ। बाहिर साथीहरु दायाँ बायाँ लागि सकेछन भन्ने लाग्यो। केहि साथीहरु भित्र आउनु भयो। बिष्णुजी संग डेनमार्कको बसाइको क्रममा सुरुवातका दिन देखी गहिरो हिम चिम भएका मित्र भानु पोख्रेल कोपनहेगन भन्दा टाढाको शहरमा बस्नु हुन्थ्यो ,त्यसै दिन मात्र भेटेर जानु भएको अनि उहाँलाई फोन सम्पर्क गरें। अन्य थुप्रै साथीहरुलाई पनि सम्पर्क भयो। एन आर एनका अध्यक्ष दिपेन्द्र चुडाल पनि आइ पुग्नु भयो। अब के गर्ने भन्ने सन्दर्भमा छलफल भयो। कोठामा बिश्णुजीको स्थुल शरीर मात्र थियो।  हिन्दु संस्कार अनुसार आज केही गर्नु पर्छकी भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दै शिला लाइ बोलाएर ' नारायणम ' गराइयो। केहि साथीहरु र इन्दिरा लगायतका केही महिलाहरु पनि शिला संगै बिश्राम कक्षमा बस्ने कुरा भयो त्यो रात। भोलि पल्ट ७ बजॆ भेट्ने सल्लाह गरि हामी फर्क्यौं। भोली पल्ट सल्लाह बमोजिमनै ठिक समयमा जुटेर अर्थ संकलनमा लागियो। अध्यक्ष  दिपेन्द्र चुडाल लगायत एन आर एन को तत्कालिन कमिटीले भरपुर सहयोग गर्यो। यसरि श्रद्धान्जली कार्यक्रम र शव नेपाल पठाउने अनि शिला र बच्चाहरु नेपाल पठाउने लगायतका काममा सिंगो नेपाली समुदायले एउटा बलियो उदाहरण प्रदर्शन गर्यो। कोपन्हेगनको हवाई मैदानबाट बाकशमा बन्द बिष्णुजीलाई र उहाँका बाल बच्चा सहित नेपाल पठाउने दिन सम्म यहाँको नेपाली समुदाय गैह्र आवासीय नेपाली संघ र बिशेष गरी अध्यक्ष दिपेन्द्र चुडालको अहो रात्र खटाई एउटा बिर्सन नसकिने क्षण थियो भन्नलाई कुनै कंजुस्याईं गर्नु पर्दैन। 

त्यस दिन जब बिष्णुजीले हामी सबै शुभ चिन्तक तथा आफ्नो पृय परिवारलाई यस लोकमा छाडेर एक्लै कतै प्रस्थान गर्नु भयो , मलाइ लाग्यो आखिर माछाको बल पानी सम्म त हो। छोटो समय जिउंदा पनि किन मान्छेले यति बिघ्न लोभ , लालच , इर्श्या , डाहा, कल ,झगडा गर्छ हँ ? आँफैले आँफैलाई सोध्न मन लाग्यो।  
हाम्रो जस्तो पिछडिएको मुलुक बाट बिदेस लाग्नेहरु थोरै मात्र रहरले र धेरै करले वा बाध्यताले त्यो निर्णयमा पुग्छन। राज्यले बिदेसिएको आफ्नो नागरिकको बारेमा जे जस्तो धारणा बनाए पनि बिदेसिएको मान्छे भने पहिला भन्दा ३ गुणा बढी देसभक्त बन्छ। देस छाडे पछि झन् बढी देसको माया लाग्नु नै  ३ गुणा बढी देसप्रेमी हुनु  हो। रात दिन बिदेसमा हड्डी घोटेर बचेको २-४ पैसो उसले नेपालका आफ्ना आफन्तहरुको हेर बिचारमा खर्चेको हुन्छ। बिदेसको बसाइमा पनि कृष्ण भीरको पैह्रो र मुग्लिंगको जामले उसलाई सताएको हुन्छ। नाकाबन्दी र भूकम्पले उसको बिदेसको निन्द्रा रातमा ४ पटक खल्बल्याएको हुन्छ। नेपाल जाने योजना बनाए पछि ६ महिना अगाडी देखि उसले घडीको सुइ र भित्तामा टाँसेको पात्रो हेरी रहन्छ। बाल बच्चा सहितको एउटा जिम्मेवार मान्छेको भविष्यको योजना असाध्यै सुन्दर हुन्छ।  अनायास कतै बाट उ थलिन्छ र छिट्टै तँग्रिएर आफ्नो पुरानो रुटिङ्गमा फर्किने सपना अस्पतालको चौघेरामा सदाको लागी बिसर्जन हुन्छन।   जीवनको राम कहानी समाप्त हुन्छ। अन्त्यमा त्यो पिड़ा आश्रीतहरुले व्यहोर्नु पर्ने र क्षति समाज र रास्ट्रलाइनै भएको हुन्छ। नियति पनि आखिर ढिलो वा चांडो सबैको त्यहि त हो। 
डेनमार्कलाई आफ्नो कर्म थलो बनाएर बिगत झन्डै ९ बर्ष सपरिवार कोपन्हेगनमा नेपालि समुदाय बीच क्रियाशील राजनीतिक तथा सामाजिक जीवन बिष्णुजीले बिताउनु भयो। '' मलाइ कत्ती केहि हुदैन तपाइहरु आत्तिनु पर्दैन '' भन्ने जस्ता ढाडस युक्त उच्च मनोविज्ञानका धनि हुँदा हुँदै पनि उहाँ लाइ हामीसंगै रमाउन बस्न अनि बहिनी शिला ,बुनु र सुबिन संगको सुखी परिवारबाट दैबले अत्यन्तै निश्ठुरता पुर्बक चुण्डाएर लग्यो। भगवानले अतिनै अन्याय गर्यो त्यसैले म भन्छु बिश्णुजी , तपाइँ भगवान संग नबस्नु होला बरु यतै कतै हाम्रै वरिपरि रहनु होला। अनि मौन संबाद गरौंला। 

उदय राज गौतम 
२५ मार्च २०१८ 
कोपनहेगन, डेनमार्क 

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"