टेक बहादुर आले: व्यक्ति एक ,व्यक्तित्व अनेक

टेक बहादुर आले सर मेरो संस्मरण
                          व्यक्ति एक ,व्यक्तित्व अनेक
                                                  उदय राज गौतम
                                                       हुवास ३ ,पैयुँ हटिया
                                                          हाल : डेनमार्क

टेक बहादुर आले संग अब भेट हुँदैन भन्दा यो कुरा पत्याउन मलाइ निकै गाह्रो भै रहेको छ । हुन त मलाइ हाम्रा बा ले यो धर्ती छाडेको बेला यस्तै अनुभूति भएको थियो।यस पटक गाउँ जाँदा न त बा को तेजिलो अनुहार देख्न पाइयो न त आले सरको सिनित्त परेको मुखाकृतिको झल्को मेट्न पाइयो । झन्डै आधा घण्टा आले सरको घरको डिलमा बसेर यता उता नजर डुलाउदा जता सुकै मैले उजाड देखें।हरिया रुखका पातहरु पनि सुकेका जस्तो लाग्यो।जहिले पनि सांझ घरमा पुगे पछि भोलि पल्ट बिहानै सात नबज्दै उहाँको घरमा पुग्थें म ।कुनै कुनै बेलामा अलि ढिला सम्म सुत्यो भने बाले , ए माइला आज टेक बहादुर काहाँ  जान्नस कि क्या हो ?'' भनेर सोध्नु हुन्थ्यो । तर , यस पटक भने एक्लै जाने हिम्मत आएन ,भाइ निलकण्ठलाई जाम न हिंड भनेर संगै लिएर गएँ ।  काकी संग एक छिन कुरा कानी भयो दुख सुखका। '' यत्तिनै बेला एउटा लोर्के ठिटो झोला भिरेर स्कुल ड्रेस मा आयो। काकी !  को हो यो ? भनेर सोद्धा रमेशको छोरा हो नाति भन्नु भयो ।'नमस्ते' भनेर आफ्नै काम तिर लाग्यो उ पनि।लण्डनको बकिन्घाम प्यालेस हुँदै सेन्ट पौल क्याथेड्रल सम्म छुट्टीका बेलामा आफ्ना लाहुरे श्रीमानको हात समाउदै  र मसक्क मस्किदै  साँझ पर्दा बेलायति सरकारले उपलब्ध गराएको सरकारी क्वाटरमा फर्किदा काकीको अनुहारमा फुल्ने गुलाफ यति बेला ओइलाइ सकेको थियो।मैले त काकीको अनुहारमा सिधा नजरले हेर्न पनि सकिन।खल्ती बाट मोबाइल झिकेर काकी यता फर्किनुस त भनेर फोटो भने खिचें। 
मैले चिनेको टेक बहादुर आले मेरो अत्यन्तै प्यारो गुरु जसले छड्के अक्षर साह्रै राम्रो लेख्नु हुन्थ्यो । म कक्षा ५ मा पढ्थें हुँला सायद । एक दिन प्रार्थनाको लाइनमा तिलक सरले २ जना लाहुरे लिएर आउनु भयो । समय समयको कुरा हो , त्यति बेला हाम्रो गाउँमा लाहुरेको साह्रै इज्यत सम्मान थियो । गाउँमा कोहि छुट्टी आयो भने घर, घर पसल ,पसलमा कुरा हुन्थ्यो । अझ मलायको लाहुरे भने पछि त कुरै अर्को हुन्थ्यो ।  बुढा पाकाहरु कति कमाए होला , कति पैसो ल्याए होला , भाग्य  कै  कुरा  त  हो ! अब फलानाको भाग्य चम्कियो भनेर गफ गर्ने गर्थे  । हामीहरु भने बक्सिङ्ग कत्तिको खेल्न सक्छ होला अथवा सेउरात्रिको बजारमा ठेलो फालेर कसले जित्छ होला ! अनि यो पटकको दशैंमा हट्टियाको राँगो कति पटकमा मार हानेर ढाल्छन होला ,भनेर मच्ची मच्ची गफ गरिन्थ्यो । तिलक सरले स्कुलको लाइनमा लिएर आएका यी दुइ लाहुरेको भने अरुको भन्दा कुरा अलि भिन्दै रहेछ । प्रार्थनाको लाइनमा निकै खास खुस चल्यो।

उहांहरु अब यो स्कुलमा शिक्षक हुन आउनु भएको हो, ठेगाना सहित तिलक सरले भन्नु भयो । टेक बहादुर आले र गुप्त बहादुर आले । अनि उहाँहरुले पनि आ आफ्नो परिचय दिनु भयो । नयाँ शिक्षक स्कुलमा आउदा अब यिनले कत्तिको छडि हान्छन होला भन्ने कौतुहलले हामीलाई सताई हाल्थ्यो ।त्यस माथि लाहुरे त झोंकी र बलिया हुन्छन भन्ने आम सत्य जस्तै थियो ।भिम सरकै घर नजिकका मान्छे भएकोले अब यिनले पनि गोदनु गोद्छन भन्ने  मनमा लागेको थियो । अझ त्यस माथि लाहुरे शिक्षक भएकोले अरुले छडि हानेको भन्दा बढि नै दुख्ने होला । मन चसक्क भयो । जति बेला पनि संगै हिंड्ने बस्ने सहपाठी नेत्र आलेले हाम्रो दाइ हो भने पछि मन अलि ढुक्क भयो । पछि कुरा बुझ्दै जाँदा थाहा भयो मलायका लाहुरे टेक बहादुरले स्वास्थ्य शिक्षा पढाउने रहेछन । दोस्रो दिन उहाँ कक्षामा आउनु भयो । मलाई यो कुरा झल् झली आउछ । शुरुमा उहाँले हात कसरि सफा संग धुने जस्ता स्वास्थ्य शिक्षाका आधारभूत कुराहरु बडो सरल ढंग बाट बताउनु भयो । शुरुमा त मलाइ के लाग्यो भने लाहुरेले  पनि यस्तो कुरा कसरि जानेको होला ।  पहिलो दिन ब्ल्याक बोर्डमा चकले लेख्दा टेक बहादुर सरका अक्षर हेर्न वोल्लो पल्लो कोठाका बिध्यार्थिहरु पनि आए । हुन त तिलक सर भिम सरका अक्षरहरु पनि निकै राम्रा थिए । तर टेक सरका लामा लामा ताँती मिलेका छड्के अक्षरले सबैलाई मोहित बनायो । मैले  त्यस्तै अक्षर लेख्ने धेरै प्रयास गरें तर सकिन । बेलायतको सडकमा कसैले पनि चुरोटको ठुटो पनि फाल्दैन ,अनि चकलेट को खोल पनि गोराहरूले सडकमा फाल्दैनन  । फोहोर फाल्ने तोकेको ठाउँमा मात्र मानिसहरुले फोहर फाल्छन ,बीच बाटोमै फाल्ने ठाउँ फेला नपरे खल्तीमै राखेर लैजान्छन र त्यो ठाउँ फेला परे पछि बल्ल मिल्काउछन।बिहान बिहानै पानीले बाटो पखाल्छन भन्दा हामीलाई अचम्म लाग्थ्यो।यस्तो सुन्दै पत्यार नलाग्ने कुरा हामीले जीवनमा पहिलो पटक टेक बहादुर आले सरकै मुख बाट सुनेको हो । जुन कुरा हामीलाई एका देसको कथा जस्तै लाग्थ्यो । हामि भने त्यति बेला पलांसे गैह्राको सानो कुवा बाट अन्जुलिले उठाएर धमिलो पानी सुरुप्प पारिन्थ्यो, गाई गोरुले र हामीले पालै पालो।
यस्तै यस्तै कुराहरु अरु धेरै सुनाइ राखे पनि हुन्थ्यो नि भन्ने लाग्थ्यो  । बेला बेला कक्षामा उहाँले यस्ता कुरा सुनाइ रहनु हुन्थ्यो । एक पटकको कुरा हो कक्षा ६ मा पछाडी बस्ने एक जना कसैले नाक बाट सिंगान निकालेर हातमा खेलाएको देख्नु भएछ । उसले निगालाको सिप्किनो दह्रो संग खायो । सायद उसले त्यस्तो काम पछि कहिल्यै गरेन होला  । केहि दिन पछि उहाले  नाक कोट्याउने ,सिन्काले कान कोट्याउने , नंगले दांत कोट्याउने गर्दा रोग कसरि सर्छ ,अनि त्यस्तो गर्दा अरुले के सोंचछन् भन्ने कुराको लामो फेहरिस्त चित्रै बनायर सुनाउनु भयो । पश्चिमा संस्कृति र चाल चलनको बारेमा आँफैले भोगेर बिद्यालयमा हामीलाई शिक्षा दिने र किताबमा लेखिएका कुराहरु आफुले पनि ब्यबहारमा लागु गर्ने टेक बहादुर सर पैयु खोलाको एक सरल इमान्दार र कर्तव्यनिष्ठ खम्बा हुनुहुन्थ्यो  । हाम्रो समाजको एउटा अचम्मको चलन कस्तो छ भने जीवित छंदा जति सुकै राम्रो काम गरे पनि उछित्तो काड्ने र मरे पछि देवत्व करण गर्ने।थोरै बोल्यो भने ठालु पल्टियो भन्ने र अलि  बोल्यो भने बढी जान्ने भयो भन्ने । कुनै पनि व्यक्तिलाई जीवित छंदै उसले गरेका कामको आधारमा मुल्यांकन गरि जिवितै छंदा उसले देख्ने गरि सम्मान गर्न सके कति राम्रो हुने थियो। पातलो जिउ ,सधैं सफा सुघ्घर रहनु पर्ने , कपडामा आइरन लगाएर धार पार्नु पर्ने एउटा हंश मुख समाज सेवी हुनुहुन्थ्यो उहाँ । अलि पछि थाहा भयो उहाँ त डाक्टर पो हैछ त । डाक्टरी पढेर एम बि बि एस नगरे पनि उहाँ स्वास्थ्य क्षेत्रमा अब्बल व्यवशायिक हुनुहुन्थ्यो भन्दा फरक पर्दैन । जब उहाँले मर्दी खोलामा औसधि पसल राखेर बिरामीको हेरचाह गर्न शुरु गर्नु भयो अनि त माहोल नै अर्कै भयो । टाढा  टाढा बाट  पनि बिरामीहरु आउन थाले । मध्ये रातमा धरमपानी , बानिडांडा ,भुर्तेल्थोक , धरादी , करादी धाउँदा कहिले काही त उहाँ स्कुल आउदा अलि थकित देखिनु हुन्थ्यो ।
 बिहान सबेरै नउठ्ने उहाँको बानि थियो । हरेक दिन नुहाउनु पर्ने , चियाको महा पारखी , साह्रै मिलाएर कपडा लगाउन पर्ने उहाँको बानि अलि बिशेष प्रकारको थियो । ''ओछ्यानमै चिया चाहिन्छ के माइला बाबु उहाँलाई '' एक दिन एका बिहानै के कामले हो बा ले टेक बहादुरलाई भेटेर आइज भनेर म उहाँको घर जाँदा  काकीले भनेको सम्झन्छु।उठेर जिउको सर सफाई पछि फेरी चिया पिएर बल्ल मर्दी खोला झर्ने । त्यति बेल्ला सम्म क्लिनिकमा बिरामीको भिड जम्मा भै सकेको हुन्थ्यो  । नजिकैको पसल बाट  चिया मगाएर उहाँ बिरामी जाँच्न शुरु गर्नु हुन्थ्यो । औसधि किन्ने पैसा छैन हजुर भनेर कति पटक बिरामीले भन्दा उहाँले पछि पछि दिंदै गर्नु भनेर औसधि दिएर पठाउनु हुन्थ्यो । पछि पछि भनेको पैसा दिनु पर्दैन भन्ने अर्थ लाग्थ्यो उहाँको आसय । गाउँको क्लिनिक उधारो औसधि बाड्ने अनि बेला बेला पोखरा गएर पेन्सन थाप्ने र फेरी औसधि किनेर ल्याउने । जहाँ जाँदा पनि सकेसम्म आफन्तकोमा नबस्ने अरुलाई दुख नदिने बरु होटलमै पैसा तिरेर बस्ने उहाँको बानि थियो । 
---------------------------------------------------------------------------------------------

क्लिनिकमा धेरै समय दिनु पर्ने भएकोले होला सायद उहाँले पछि स्कुलको शिक्षण पेशा छाड्नु भयो।
 मेरो सम्पर्क उहाँ संग तिन चरणमा भयो। पहिलो उहाँले पढाउनु भयो। त्यसैले टेक सर भन्न थालियो। शुरु शुरुमा नजिक जान पनि निकै डर लाग्थ्यो । जानै  पर्यो भने पनि अलि सतर्क भएर , पाइन्ट ,सर्टको टाँक मिलाएर , हातको पोजिशन मिलाएर जाने गरिन्थ्यो । कहीं कोट्याउने, कन्याउने गरियो भने फेला परिन्थ्यो । दोस्रो चरणमा राजनीतिक तथा सामाजिक सम्बन्ध रह्यो ।हटियाको स्कुल सकेर ८ कक्षा  पढ्न त्रिबेणी लागे पछि उहाँ संग राजनीतिक छलफल बढि हुन थाल्यो । २०३६ सालको रास्ट्रब्यापि बिद्यार्थी आन्दोलनले बोकेखोलाको निर्मल जनसेवा मा वि को बातावरण राजनीतिमय भयो। मेजर भिम बहादुर राना स्कुलको संचालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । हामीले स्कुलमा स्वतन्त्र बिद्यार्थी युनियन खोल्यौं । केहि दिन पढाइ समेत ठप्प भयो । माहोल निकै टकराव पुर्ण भयो ।यसकॊ कथा अलि लामो छ , यहाँ सबै  व्याख्या गर्न सान्दर्भिक पनि छैन। मात्र कुरा के भने आन्दोलनको नेतृत्वमा म अग्रपंक्तिमा भएकोले मेजर बा ले सम्बन्धले आफन्त भएकोले टेक बहादुर आले संग कुरा गर्नु भए होला ।  त्रिबेनिको स्कुलको आन्दोलन र स्व. वि. यु. खारेज गर्ने सम्बन्धमा धारणा बुझ्न , कुरा गर्न उहाँले 'घरमा आउ' भनेर बोलाउनु भयो। किन किन मलाइ यस पटक यो विषयमा कुरा गर्न उहाँको घरमा जान मन लागेन । कुरा एक कान, दुइ कान ,मैदान हुँदै बोके खोलाको स्कुल सम्म पुग्यो भने साथीहरुले 'गद्दार'  'धोके बाज' भन्न बेर लाउदैनथे । १-२ महिनामै स्कुलको मात्र हैन, मुलुककै काया पलट गरिन्छ भन्ने लाग्थ्यो त्यति बेला । हजुरको घरमा त हुँदैन भन्यो भने फेरी घरमा बाको खप्की  खानु पर्ने । एक्लै कुरा गर्न जानु भन्दा कुनै साथीलाई लिएर जाँदा उपयुक्त हुने लागेकोले बालकृष्ण न्यौपाने लाइ भनें र उनि मार्फत पुलामिको भट्टिमा बेलुकी पख भेट्ने सल्लाह भयो । ठ्याक्कै मिती सम्झना भएन साल भने  २०३६ हो । 
पर्वत जिल्ला पंचायतको उप सभापति काशिनाथ न्यौपाने त्यतिबेला हुवासमा मात्र हैन सिंगो दक्षिण भेकमा चर्चाको शिखरमा हुनुहुन्थ्यो  । बालकृष्ष्ण न्यौपाने उहाका जेठा छोरा अर्थात निर्दलीय पंचायतका घोर बिरोधि, मेरा एक असल मित्र । स्कुलको आन्दोलन बालकृष्णको बुबालाई पनि ठुलो टाउको दुखाइको विषय भएको थियो । जिल्ला बाट सी डि ओ ले हैरान पार्थ्यो अरे मैले सुनेको । साह्रै भएर होला एक पटक त बालकृष्णलाइ घरै जान गाह्रो भाको कुरा गर्नु हुन्थ्यो ।   उहाँको मन राख्न भा पनि कुरा गरियो । आले सर संग कुरा मिल्ने अवस्था थिएन,मिलेन। तैपनि उहाँले चित्त दुखाउनु भएन ।  करिब डेढ घन्टाको बसाइमा ५ कप चिया पिउनु भयो उहाँले । साह्रै भएर होला मन बहादुर पुलामी बाले छैटौं चिया कपको मागलाई घुमाउरो पाराले दुध छैन भनेर टार्दिनु भयो  । हाम्रो कुराले कुनै सकारात्मक मोड लिने सम्भावना थिएन,र  लिएन पनि । '' जनैले खानि राजाले हार्छ , हजुर किन ढिपी गर्नु हुन्छ ?'' बाल कृष्णले जंगीएर बोलि हाले । बालकृष्णको 'जनैले खानी भन्ने' कसम सुने पछि उहाँले पनि '' सुर्य चन्द्र आकाशमा छउन्जेल राजतन्त्र फाल्छु भनेर कोशिश नगर्नु '' बिस्तारै अर्को दनक दिनु भयो । एक छिन मौनता छायो। राजा बिरेन्द्रले निर्दलीय पंचायती ब्यबस्था वा बहुदलिय शाशन ब्यबस्था भनेर रोज्नेमा जनमत संग्रहको चुनाब गराउने घोषणा भर्खर गरेका थिए । मेजर बा ,बाल कृष्णका बा, आले सर लगायत धेरै लाइ निर्दल बिरोधि गतिबिधि बढेकोमा ठुलो टाउको दुखाइको विषय भएको थियो। युवा प्रति आले सर धेरै सकारात्मक हुनुहुन्थ्यो । हाम्रो कुरा नमिले पनि फेरी फेरी भेटौं है भन्नु भो उहाँले , त्यो दिन बिदा भैयो। अलि पर पुगेर फेरी बोलाउनु भयो , '' जिल्ला बाट वारेण्ट काट्न सक्छ मैले अलि अलि सुनेको छु सतर्क रहनु।''  राजतन्त्रात्मक देस बेलायत बाट प्रशिक्षित भएर होला सायद टेक बहादुर सरले त्यतिबेला निर्दलीय पंचायती व्यबस्थाको पक्षमा र खासमा अझै भन्नु पर्दा राजतन्त्र प्रति उहाँमा ठुलो सम्मान थियो । बेलायति जनताले एक पटक फाली सकेको राजतन्त्रलाई किन फेरी स सम्मान स्थापित गराए भनेर उहाँले राम्रै व्याख्या गर्नु हुन्थ्यो । बेलायति फौजको सिपाही भएर पनि राजनीतिक चेत उहामा राम्रो थियो , जो कोहिमा त्यति बेला त्यस्तो राजनीतिक ज्ञान हुँदैनथ्यो ।हाम्रो बिचमा राजनीतिक समझदारी हुन नसकेकोमा उहाँ गम्भीर हुनुहुन्थ्यो । 
२०३६ सालको बिद्यार्थी आन्दोलनको राँको देसै भरि फैलियो । सी डि ओ कार्यालयले म लगायत केहि साथीहरुलाई वारेण्ट पुर्जी जारी गर्यो । झन्डै ३५ दिन स्कुल नगई वारेण्टको म्याद गुजार्ने निधो गरियो। जाने कुरा पनि भएन । एक जना हवल्दारको कमाण्डमा ५ जना पुलिस दिन भरि स्कुलमा र अर्थुन बजारमा मार्च पास गरि रहन्थे । दिनेशलाई पक्डेछ।कुश्मा लैजान भनेर खोर पोखरा पुर्याएको रहेछ , पिसाबले च्याप्यो भनेर अलि तल कान्लामा झरेको पुलिसको आँखा छलेर भागेछ । जहाज चलाउने पाइलट बनाउँछु भनेको ८ कक्षामा पढ्दै गर्दा राजनीति गरेर पक्डाउ पुर्जी पायो भनेर घरमा बाले भन्न थाल्नु भयो । आन्दोलनको ताप नशा  नशामा भिजि सकेको थियो।बहुदललाई जिताउन कम्मर कसेर लागियो । एक दिनको कुरा हो , खोर पोखरामा आम सभा सकेर मर्दी खोला आइ पुग्दा रातको झन्डै १० बजेको थियो । अन्नमस्टी अँध्यारो थियो , घर जान केहि उज्यालो पाइन्छ  कि भनेर पुलामी बाजेको घरमा पसेको टेक बहादुर , प्रेम बहादुर , धन बहादुर बाजे लगायतको समूह त्यहीं रहेछ।अरु सायद  रक्सि पिउंदै थिए ,टेक बहादुर चिया सुर्काउदै गरेको देखियो । अब परेन पासो ! बेकारमा यता पसिएछ भन्ने लाग्यो।'' तिमीलाई काशिनाथले भेट्न खोज्नु भाछ । भोलि बेलुका ४ बजे तिर चिसोपानीमा आउनु '' भन्नु भयो। ठुला मान्छेले बोलाएको कुरा कसरि नाइँ नास्ती गर्नु । भोलि पल्ट फेरी भोर्लेमा कार्यक्रम थियो  । एक पल्ट बालकृष्ण संग पनि सल्लाह गर्छु , भोलि अलि फुर्सद छैन , बा संग होस्राङ्ग्दि तिर  जाप पुटक लाउन संगै जान पर्छ रे '' कुरॊ बनाइयो । ल ठिकै छ , २-३ दिन भित्र जसरि पनि भेट्नु है भन्नु भो।सरक्क घर जाउ बाहुन अनेक लंठामा नलाउ ' भनेर प्रेम (कान्छा) बाजेले भन्नु भो।पुलामी बाजे संग लाइट मागेर घर लागें। 
झन्डै ३-४ दिन पछिको कुरा हो , छोरालाई जसरि पनि भेट्न पठाइ दिनु भनेर काशिनाथले बालाई खबर पठाउनु भएछ । खोलाको जिउँदो मान्छे हो , लबस्तरो छैन एक पटक भेट्न जा भनेर बाले कडा आदेश गर्नु भो । ए राम ! अब फेला परियो भन्ने लाग्यो मन मनमा । विद्यार्थीको हुलको बिचमा भए त मज्जाले थर्काइन्थ्यो । एक्लै काशिनाथ संग कहिल्यै कुरा गरेको थिइन । एक पटक बालकृष्ण संग गएर उनको घरमा भात खाएको थिएँ ।त्यति बेला उनि घरमा थिएनन । पुलामिको चिया पसलमा भेट्ने रे , भने पछि के के भन्ने होलान भनेर मनमा अनेक तर्कना खेल्यो । जे त पर्ला बालकृष्णका बाउ त हुन् भनेर जाने बिचार गरें। लामा लामा काला जुँगा , अग्लो शरीर सेतो पाइण्ट धर्के सर्ट लगाएका उच्च व्यक्तित्वका धनि काशिनाथलाइ भेट्ने बित्तिकै बुवा नमस्कार भने।उदय बाबु एता आउत भनेर चिया पसलको पछाडी लगे।'' हेर !  तिमि, म , टेक बहादुर, दानकाजी,नेकर्गा मन बहादुर ( अरु को को हुन् मैले नाम बिर्सें ) लगायत यो भेकका सबै मिल्ने हो भने निर्दलले जित्छ। तिमी भविष्यको नेता हौ , बाहिर पढ्ने ब्यबस्था मिलाउनु पर्यो भने पनि म छंदै छु चिन्ता नगर्नु । एक पटक वालिङ्ग हुँदै खसेउलि , नारनघाट अनि पोखरा सम्म घुमेर आउ। निला झण्डा र पहेंला झण्डा कुन धेरै छन् गन्नु।फर्केर आउँदा निला झण्डा धेरै देखेउ भने म पनि तिमीहरु संगै बहुदलको प्रचार गर्छु । बाटा खर्चको ब्यबस्था हाललाई १० जति जिल्ला तिर बाटै मिलाउंला । १ जना साथि पनि चाहिन्छ संगै जाने । म टेक बहादुर संग कुरा गर्छु उनलाई धेरै बाहिरि कुरा पनि थाहा छ । अरु बाँकी कुरा उनी संग गर्नु म भोलि कुश्मा जाँदै छु ।''  यति कुरा फटाफट भनेर उहाँ हिंडी हाल्नु भयो । मैले मेरो कुरा राख्नै पाइन । त्यति  बेला ठुला मान्छेहरु आँफु भन्दा सानाको कुरा खासै सुन्दैनथे सुनिहाले पनि त्यसलाई त्यति महत्व दिंदैनथे  । तुलनात्मक रुपमा अन्य ठुला बडाहरु भन्दा काशिनाथमा अलि पृथक गुण थियो उनि तल्लो जातका भनिनेहरुलाई , खेलाडि र बिद्यार्थीहरुलाई  अलि बढि माया गर्थे अनि गफ गाफ गर्थे मज्जाले । बिरेन्द्र च्यालेन्ज शिल्ड प्रतियोगितामा  हाइजम्प तर्फ़ जिल्लामा म  दोस्रो  बन्दा उनले मलाइ कुश्माको बडा चौरमा बोकेरै २ फन्को लगाए । त्यो घटना म कहिल्यै बिर्सन्न।
भोलि पल्ट टेक बहादुर भेट हुनु भयो । मैले काशिनाथ बुवाले यसो यसो भन्नु भयो भनेर बेली बिस्तार लगाएँ । उहाँले यो कुरालाई त्यति महत्व दिनु भएन । कुरा भने रमाइलो मानेर सुन्नु भयो । यो कुरा यत्तिकै सेलायो । राजाको हातमा सबै चिज भएकोले बहुदलको भविस्य छैन । अब निर्दलले जिते पछि क्षत्र बहादुर मन्त्रि बन्ने र गाउँको बिकासमा योजनाहरु ल्याउन सकिने आदि इत्यादी कुराहरु भए । बरु तिमीले चाहेमा इक्षा बहादुर गुरुङ संग भेट गराई दिन्छु सम्म भन्नु भयो । (स्मरण रहोस: त्यतिबेला रास्ट्रबादी बिद्यार्थी मण्डलको दबदबा थियो र इक्षा बहादुर गुरुङ पर्बतको अध्यक्ष ) 
यो भयो २०३६ सालको कुरा । जनमत संग्रहको परिणाम राजाको इक्षा अनुसार भयो , जो हुने वाला नै थियो । हामीलाई लाग्यो निर्दलमा त्यस्तो समर्पण भएको मान्छे अब टेक बहादुर सरलाई अलि अलि अवसर मिल्छ होला भन्ने लागेको थियो । त्यस्तो कहाँ हुनु ? वहांको दैनिकीमा कुनै बदलाव आएन न त वहाँ कुनै नेताको पछि लागेर कुश्मा तिरै अल्झिनु भयो । बिरामी जाच्ने , बिहान देखि बेलुका सम्म चिया पिउने सकेसम्म अरुलाई पनि चिया पिउन निम्त्याउने अनि सबैको पैसा आँफैले तिर्ने । पेन्सन बुझ्न पोखरा जाने , औषधि किनेर ल्याउने तर १ किलो पनि आंफुले नबोक्ने । भोलि पल्ट औषधि ल्याउन मान्छे खोजेर वालिङ्ग पठाउने । त्यस बिचमा उहाको बुवाले पनि यो धर्ति छाडी सक्नु भएको थियो । छोराहरु रमेश र गिरी  सानै थिए । घरमा हल गोरु , भैसी र बाख्राहरु थिए । मंगसिर लाग्थ्यो , असार लाग्थ्यो । खै उहाँलाई कहिल्यै केहि लागेन । किसान परिवार १ डोको घाँस काटेको , खेत खन, जोत गरेको , रुख चढेर घाँस झारेको हामीले देखिएन । अन्जुलाई बिहे गरेर दिए पछि त काकी झन् एक्लै हुनु भयो । आखिर स्वभाव र बानीको कुरा पनि हो । '' सर लाइ काम लगाउनुस न काकी !'' एक पटक मैले काकीलाई भनें।खै वहाँ ले त कहिल्यै गर्नु हुन्न । ''  वहाँ लाइ भेट्न जान पर्यो भने सिधै मर्दी खोलामा झर्ने र २-३ वोटा चिया पसल चाहार्ने । एउटा न एउटामा उहाँ फेला पर्नु हुन्थ्यो । शुरु शुरुमा क्लिनिक संचालन गर्ने तरिका पनि उतै बिलायति शैलीमा जस्तै टाइममा खोल्ने र टाइममा बन्द गर्ने अनि बिरामी पनि त्यसरी नै जाच्ने सोच्नु भाथ्यो होला तर गाउँका कुरै भिन्दै । खाँदा खाँदै पनि कोहि आयो भने दौडी हाल्नु पर्ने । आफुलाई अभ्यस्त पार्न पनि मिहिनेत गर्नु भयो वहांले । 
२०३६ साल  देखि  २०४६ साल सम्म मर्दी खोलामा कति पानि बग्यो होला , त्यसको कुनै लेखा जोखा  कसैले  राख्ने कुरा भएन । तर मुलुकको राजनीतिमा देखिएको मात्रात्मक रुपान्तरणको  हिसाब किताब भने उहाँले राख्नु भएको थियो । २०४५ साल सम्म झन्डै दिनहुँ जसो उहाँ संग मेरो भेट हुन्थ्यो । जब म स्नातक अध्ययन गर्न काठमान्डू  हिंडे, अनि भेट स्वाभाविकै रुपमा पातलियो । राजतन्त्रको पक्षपाति भएपनि निर्दलले जिते पछि २०३८ साल देखि उहाँमा राजतन्त्र ,निर्दल प्रतिको मोह टुटी सकेको थियो । तर ति सबै कुराहरु अव्यक्त थिए । मैले तेस्को छनक पाई सकेको थिएँ ।  उहाँले म संग धेरै कुराहरु सेयर गर्नु हुन्थ्यो । तिमी मेरो बिद्यार्थी भए पनि राजनीतिको गुरु जस्तै हौ '' भन्नु हुन्थ्यो , त्यसो भन्दा मलाइ कता कता धेरै नै अप्ठ्यारो लाग्थ्यो । किनकि आफुलाई पढाएको गुरु संग हात सम्म मिलाउनु पनि हामीलाई ढुंगा चपाउनु सरह थियो । २०५० साल तिर होला सायद भिम सरले म संग हात मिलाउनु भयो हट्टियाको स्कुलमा । मलाइ दिन भरिनै मन भारी भै रह्यो । मैले असहज मान्दा मान्दै पनि २०४६ साल पछि टेक सरले हात अगाडि बढाउन थाल्नु भयो  ।
 २०४६ सालमा रास्ट्रब्यापि  रुपमा जन आन्दोलन भयो । म काठमांडू जानु भन्दा पहिला देखिनै मैले उहाँ संग  नेकपा (मसाल ) को राजनीतिक लाइन बारे धेरै पटक छलफल बहस गरेको थिएँ कहिले एक्ला एक्लै र कहिले अन्य साथीहरु संगै । राम प्रसाद काफ्ले , लक्ष्मण पुरी , हिमाल पुरी , टकलाक भिमलाल नेउपाने , बालकृष्ण नेउपाने , चण्डी भुर्तेल , खेम भुर्तेल , खगेन्द्र भुर्तेल बालकृष्ण थापा , जीवन सेन, कृष्ण श्रेष्ठ लगायतका साथीहरु संग भेटघाट भै रहन्थ्यो । मर्दी खोलामा झरे पछि चिसापानी जाने कि अर्थुन जाने भन्ने कुरा हुन्थ्यो । फर्किदा राति हुन्छ भन्ने कुरा बिहान घर बाट हिड्दा नै थाहा पाउने अनि टर्च लाइट लिएरै झर्ने बिहान  । उज्यालो बेलामा  त उहाँ घरमा कहिल्यै निस्के जस्तो लागेन मलाइ  । 
जन आन्दोलनको दौरानमा काठमान्डू बाट थुप्रै किताब र प्रगतिशील पत्र पत्रिकाहरु उहाँलाई पठाएँ । फेला पारे जति शिर देखि पाउ सम्म सर्लक्कै पढ्नु हुन्थ्यो उहाँ । कतै बहस गर्नु पर्यो भने लेखिएका कुरा सम्झी सम्झी समसामयिकतामा ढालेर बिस्तारै बहस चलाउनु हुन्थ्यो । उहाँको राजनीतिक लाइन संग असहमत हुनेहरुले ' टेक बहादुरले सिद्धान्तलाई छेपाराले रुखको हाँगो च्याप्प समाए झैं गर्छन '' भन्थे । बिचार नमिले पछि कसैले त्यसो भन्यो भने पनि राजनीतिक सोंच भएको व्यक्तिले त्यसलाई सहज रुपमा लिन सक्नु पर्छ , त्यो कलामा आले सर पोख्त भै सक्नु भएको थियो।२०४७ सालको जेस्ठ महिना तिर हुनु पर्छ , मैले काठमांडू बाट झन्डै ९ पेजको एउटा चिट्ठी लेखेर पठाएँ।चिट्ठीमा अबको हाम्रो राजनीतिक बाटो के हुने भन्ने थियो। '' चिट्ठी पढें, केहि कुरा अलि बहस बाट बुझिने खालका रहेछन , मैले मसालमा काम गर्ने भए तिमि पनि काठमांडू छाडेर यतै बस्ने गरि आउनु '' भन्ने व्यहोराको जवाफ लेखेर पठाउनु भयो  । मोहन विक्रमले लेखेको गद्दार  पुष्पलाल भन्ने किताब पढ्दैछु भनेर पनि लेख्नु भा रैछ । २०४७  सालको  जनआन्दोलन  दरबार संग भला कुसारी गरि सानो मात्र उपलब्धिमा टुङ्गियो  । नेपालि कांग्रेस र बाम मोर्चाले आन्दोलन बाट ठुलो उपलब्धि भएको घोषणा साथ आन्दोलन टुङ्गिएको घोषणा गरे भने मसाल सहितको मोर्चा संयुक्त रास्ट्रिय जन आन्दोलन , नेपालले सम्झौता धोका हो भनेर बक्तब्य निकाल्यो । काठमाण्डुको भुरुंग खेलमा मोहन बिक्रम सिंह र चित्र बहादुरले  यो यो कारणले सम्झौता धोका भयो भनेर प्रशिक्षण दिए। त्यहाँ भएका बात सबै समेटेर टेक सर लाइ फेरी चिठी लेखें। त्यो चिट्ठी  पनि छोटो थिएन । 
'' तिमी काठमांडू बसेर राजनीति गर्ने , मलाइ गाउँमा एक्लै छाड्छौ'' पटक पटक उहाँको गुनासो त्यहि हुन्थ्यो । यति बेला सम्म नेकपा मसालका थुप्रै जिल्ला स्तरिय र केन्द्रिय तहका नेताहरु संग उहाँको सम्पर्क बनि रहेको थियो। चित्र बहादुर केसीको सादगी जीवन शैली संग उहाँ निकै प्रभावित हुनुहुन्थ्यो । मुलुकमा बहुदलको आगमन पछि २०४८ सालमा भएको स्थानिय निर्वाचनमा हुवास गाविस बाट मलाइ गाविसको अध्यक्षको उम्मेदवार बनाउनु पर्छ भनेर उहाँले पार्टीमा कुरा राख्नु भएछ। मैले भने आले जी लाइ उठाउनु पर्छ भनेर केसी बा संग कुरा गरेको थिएँ तर  उहाँलाई यो कुरामा मनाउन हामीले सक्दैनौं तपाइंले सक्ने भए गर्नुस '' केसीले भन्नु भयो। आलेजीलाई जिल्लामा पठाउने हो त्यहि निर्णय भाछ भन्ने कुरा आयो। काठमांडू बसेको बदला चुनावमा उठाएर लिने भए भन्ने लाग्यो मेरो मनमा। उम्मेदवारको दरखास्त   दिने दिन सम्म जसरि पनि आउनु पर्छ अरु कुरा मलाइ थाहा छैन भनेर टेक सरले चिट्ठी लेख्नु भाथ्यो । 
बोर्डिंग स्कुलमा पढाउने जागिर थियो। १ दिन छुट्टी दिनु पर्दा प्रिन्सिपल कृष्ण तिमिल्सिनाले आकाश खस्ला जस्तो गर्थे । पार्टिको कुरा बरु जसो तसो मिलाउन सक्छु तर टेक बहादुर आले लाइ यो कुरामा सम्झाई बुझाइ गर्न सकिदैन। व्यक्तिगत सम्बन्ध पनि बिग्रने भयो भन्ने लागेको थियो मेरो मनमा। जे त पर्ला जागिरै जाने त हो, पढाउन सके अन्त पनि पाइन्छ भन्ने सोचेर मन लाइ दह्रो बनाएँ । जसो तसो श्रीमतिलाई सम्झाई बुझाइ गरि स्कुलको प्रिन्सिपल संग आमा सिकिस्त बिमारी भएको बहाना पारि वालिङ्ग जाने सुरक्षा यातायातको टिकट काटियो । दरखास्त दिने समय १ घण्टा बाँकी छंदा हटियाको स्कुलमा पुगें । राम्रा अक्षरले आँफैले लेखेर मेरो उम्मेदवारी फाराम भरेर कुरी रहनु भएको रहेछ टेक सरले। सहि छाप लगाइयो , काम सकियो । अब यसरि बसेर हुँदैन प्रचार प्रसारमा लाग्नु पर्यो भन्दै  चुनाबी प्रचारको खाका लेखेको कापीको पाना देखाउनु भयो । त्यो रातको बास बानीडांडा केश बहादुर गुरुङ्गको घरमा बस्ने र अरु त्यो भेकका सबैलाई त्यहीं जम्मा हुने ब्यबस्था मिलाइएको रहेछ । झन्डै १० जना जति उकालो लागियो । २ दिन पछि चुनाबको दिन मर्दीखोला झारियो  । झिनो  मतले महेन्द्र प्रताप सेनले चुनाब जित्नु भयो । उहाँलाई बधाई दिइयो । चुनाब जित्नु भन्दा हाम्रो नीति जनतालाइ सुनाउनु हो मत पनि राम्रो आयो । तिमि १५ दिन पहिला आएर सबैको घर दैलो १ पटक टेक्न पाएको भए चुनाब जितिने रहेछ भनेर म संग धेरै पछि सम्म पनि उहाँले गुनासो गरि रहनु भयो ।  २०५५ सालमा अध्ययनको निमित्त कृष्ण काठमांडू आए पछि हामि संगै बस्थ्यौं । माओबादी संग संगै बस्ने हुँदा पार्टिको गोपनियता नरहने भन्दै मसालले मलाइ बिना कुनै कारण कारबाही गर्यो। यस्तो हास्यास्पद कुतर्कपुर्ण कारबाही पछि मसालमा बसेर मुलुकमा आमुल परिबर्तन ल्याउने कुरामा मलाइ विश्वाश रहेन। अब उप्रान्त मसाल संग मेरो राजनीतिक सम्पर्क हुदैन भनेर मैले  त्यो कुरा आले सरलाई पनि  भने। उहाँ निकैनै मर्माहत बन्नु भयो। त्यस पछि मैले उहाँलाई कहिल्यै माओबादिको राजनीतिक लाइनमा कन्भिन्स गर्ने प्रयास गरिन।उहाँ निरन्तर लागि रहनु भयो। जिल्ला पार्टि प्रमुख हुँदा पनि उहाँ होटेलमै बसेर आफ्नो खर्च खाएर राजनीतिमा समर्पित बन्नु भो। मैले मेरो राजनीतिक जीवन कालमा २ जना बिशिस्ट गुण भएका मान्छे संग संगत गरें। टेक बहादुर आले र राम प्रसाद काफ्ले । यी दुवै जनामा भएको साझा गुण त्याग समर्पण र स्वार्थ रहित राजनीति। सबै मा यस्तो होस् भन्न सकिदैन तर राजनीति गर्ने ५० प्रतिशत मान्छेमा यस्तो गुण हुने हो भने न जनताले दुख पाउछन न देसले। मसालको  राजनीतिलाई समर्थन गरे पछि अब बिलायति सरकारले पेन्सन दिंदैन भनेर शुरु शुरु मा उहाँलाई निकै हतोत्साहित गर्ने काम समेत नभएको होइन तर उहाँले त्यो कुराको फिक्री कहिल्यै गर्नु भएन । राजनीति आफ्नै ठाउँमा हुँदा हुँदै पनि सामाजिक काममा समेत उहाँ अग्रसर हुनुहुन्थ्यो। जनसेवा संस्कृत मा वि लाइ ८ कक्षाको स्वीकृति दिलाउन मकैका झोती संकलन गर्दै डांडा काहुँमा राति राति हिड्दा उहाँमा देखिएको जाँगर स्मरण योग्य  छ। टेक बहादुर कम बोल्नु हुन्थ्यो धेरै सुन्नु हुन्थ्यो । होहल्ला मा कम विश्वास गर्नु हुन्थ्यो भने बिचार र सार पक्षलाई पक्डने र रुप पक्षलाई गौण महत्व दिने द्वान्दबादको बिज्ञानलाइ उहाँले बुझ्नु भएको थियो। सादा जीवन शैली र राजनीतिक बिचारमा दृढ  टेक बहादुर अब हामि बिचमा हुनुहुन्न यो तथ्य हो। उहाँले गरेका राम्रा कामहरुको सम्मान गर्ने र  उहाँले देखाएको असल बाटोलाई अनुसरण गर्नु बांचेकाको कर्तब्य हो । 
                                                        पारिवारीक सम्बन्ध 

हाम्रा बा संग  टेक बहादुर आलेको राम्रो सम्बन्ध थियो ।उहाँ संग मात्र हैन पाट्नेथरका सबै सिनियर जुनियर ,काका काकी, बाजेहरू ,दाइ भाइ ,दिदि बहिनि बा लाइ बोलाउन हाम्रो घरमा आउनु हुन्थ्यो हामि सानै छंदा देखि। आमालाई सबैले पण्डितनि भन्थे। किताबको कुनै पनि अक्षर नचिनी हाम्री आमालाइ 'पण्डितनि ' को उपाधि प्राप्त भएको थियो । मैले अलि सानै देखि राजनीतिमा चासो राख्न थालेको कुराले बा को मनमा नजानिँदो चिसो पसेको मैले अनुभूति गरेको थिएँ। छोरा छोरीको कारणले गाउमा तल माथि वारि पारि इस्ट मित्र संग जुगौं देखि न्यानो रहेको सम्बन्ध बिग्रला भन्ने डर जो कोहि बाउ आमालाई पनि हुन्छ। बा लाइ पनि त्यस्तै भएको थियो।मेरै कारणले त्यो सम्बन्ध बिग्रला भन्ने डर थ्यो होला बा लाइ हुन त  त्यो सम्बन्ध राजनीतिक थिएन । बा पण्डित मान्छे कर्म काण्ड , जग्गे जात्रा, आजा पुजा गराउने , गाउँको सानो तिनो डाक्टर जस्तै, नाडी छाम्ने, आखत हेर्ने , कतै हिंड्नु पर्यो भने साइत हेर्दिने , फुक फाक गर्ने यावत काम गर्नु हुन्थ्यो । राति बाह्र एक बजे पनि हाम्रो घरमा वल्लो पल्लो हट्टिया बाट , मर्दीखोला, हुवास, खोला पारी, जिम्माल थर बाट फुक फाक गर्न थुप्रै मान्छेहरु आइ रहन्थे ।  गाउको दुख बिमार र अझ त्यसमा पनि पाट्नेथरका जिम्माल र गोतामे पण्डितको सम्पर्क सम्बन्धलाई कुनै लेनदेन वा यस्तै हिसाब किताबमा तुलना गर्न सकिंदैनथ्यो। कसैको घरमा भैंसीले घाँस खान मन गरेन भने पनि बा जानु हुन्थ्यो । आखत हेर्ने , जोखाना हेर्ने , बिबाह , जन्म मृत्यु सबै काममा जेठा बाजे (टेक बहादुरको बुबा ) ले पण्डित आउनु पर्यो भनेर खबर पठाउनु हुन्थ्यो । पाटने थरको आपसी एकता पनि अनुकरणिय थियो।गाउँको एकजना बरिस्ठले भने पछि अरु कसैले केहि कुरामा नाईं नास्ती गर्दैनथ्यो। हाम्रो घरमा रोपाइँ गर्न ढिलो भयो भने , खेताला पुगेनन् भने जेठा बाजेले थाहा पाउने बित्तिकै हल गोरु , धान रोप्ने रोपाहार पठाउथे।जिम्माल थरले  हाम्रा हजुरबालाइ सानै देखि आजा पुजा गर्न बोलाउथे  भन्ने कुरा हामीले सानैमा बाको मुखबाट सुनेको हो । 
हाम्रो  सहिंलो  भाइ  कृष्ण गौतमको २०६१ साल मंगसिर १७ गते स्यांग्जाको सिर्सिकोटमा सहादत भयो । हाम्रो परिवारमा परेको त्यो बज्रपात बाट टेक सर निकै मर्माहत हुनु भयो । त्यस घटनाले मर्माहत नहुने हाम्रो क्षेत्रमा कोहि पनि हुनु हुन्थेन । यद्द्यपि सबैका आ आफ्ना बैचारिक मूल्य र मान्यताहरु थिए । त्यस घटना पछि लगत्तै कोहि पनि हाम्रो परिवार संग केहि ब्यक्त गर्न सक्ने अवस्थामा हुनुहुन्थेन । त्यो एउटा समबेदना जन्य परिस्थिति थियो र भावनात्मक पक्षले सबैलाई डुबाएको थियो । त्यस घटनाको ४ बर्ष  पछि भर्खर भर्खर देसमा शान्ति प्रक्रिया चलि रहेको थियो । म घरमा गएको थिएँ । बिहान ७ बजेनै टेक बहादुर सर हाम्रो घर आउनु भयो । सधैं म जान्थे ,त्यस पटक त उहाँ आउनु भयो । आँगनमा बसेर चिया पिउन लागेका थियौं । धेरै नराम्रो संग रुनु भयो ।
मैले त्यस भन्दा पहिला कहिल्यै पनि उहाँलाई त्यसरी रोएको देखेको थिइन । केहि समय बाताबरण सन्नाटामय भयो । परिस्थिति अलि सहज भए पछि केहि कुरा भए । '' अहिले त जता गए पनि मैले आफुलाई एक्लो भए जस्तो, केहि बिर्से जस्तो , केहि हराए जस्तो भएको छ ,मेरो त दाहिने हातै चुँडियो ।'' हाम्रो खोलाले आशा गरेको , हामि सबैको भरोसाको केन्द्र थिए कृष्ण , जे नहुनु थियो त्यहि भयो । होसियारी गर्नु भनेकै हो भेट हुँदै पिच्छे । हाम्रो  केहि  लागेन ।'' भन्नु भयो र २ घण्टा जति बसेर उहाँ जानु भयो। भौतिक रुपमा  अन्तिम भेट उहाँ संग २०६६ सालमा भयो । पहिला भन्दा अलि गल्नु भएछ नि , भनेर सोद्धा बिमारी भैयो भन्नु भयो। समसामयिक राजनीतिक सामाजिक विषयमा कुरा भयो। म पनि त्यति ठुलो सुबिधा सबै छाडेर गाउँमै आएर बसेको छु। अब तिमीहरुलाई पनि बाहिरको रहर पुगे होला नि भन्नु भयो। त्यसपछि भेट हुन पाइएन। 
 बुवाजीका विश्वासहरुलाई  अम्मर बनाउने काममा रमेस र गिरि बाबुहरुले कत्ति पनि कन्जुस्याई गर्ने छैनन्। खगेन्द्र राना उहाँको भान्जाले स्मृति पुस्तिकामा केहि लेखि दिन भनेर गरेको आग्रहलाई सम्झनाको भरमा केहि लेखियो। मनमा भएका सबै भावनाहरु कागजमा ब्यक्त गर्न सम्भव नहुने रहेछ। टेक  बहादुर आलेमा निहित आदर्श र स्वच्छ छविको थोरै मात्र भए पनि अनुशरण गर्न सकियो भने उहाँ प्रति सच्चा श्रद्धान्जली हुने छ। हाम्रो टेक सर अम्मर रहुन।अस्तु :

उदय राज गौतम
 हुवास ३ , पैयुँ हटिया 
हाल : डेनमार्क
-->

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"