समानुपातिकको भाँडभैलो: विनाशकाले विपरित वुद्धि

२०७० पुष १८ गते १९:०३ मा प्रकाशित
 371  1 
  0
उदयराज गौतम
udaya Gautamजीव विज्ञानले के भन्छ ?, थाहा भएन । तर प्रचलित नेपाली उखानमा भने अन्त्य हुने बेलामा कमिलाको पनि प्वाँख पलाउँछ रे । नीति शास्त्र के भन्छ भने ’अति सर्वत्र बज्रयत’  अर्थात अति भएपछि त्यसको चौतर्फी नकारात्मक प्रभाव पर्दछ ।
संविधानसभा भाग २ को निर्वाचनपछिका केही राजनीतिक घटनाक्रमहरूलाई सर्सर्ती नियाल्ने हो भने चर्चाको शिखरमा नेकपा एमाले रह्यो । कारण उसले रामकुमारी झाँक्री र राजेन्द्र राईजस्ता एक समयका चर्चित विद्यार्थी नेताहरूलाई समानुपातिकमा सिफारिस गरेन । झाँक्रीकै  शब्दमा भन्ने हो भने ‘पार्टीलाई रगत दिने भन्दा नगद दिने प्यारा भए’। यो प्रसंगले पनि नेपालि राजनीतिमा एकखालको तरंग सृजना गर्‍यो ।
नेपाली कांग्रेसमा ओछ्यान तताउनेहरूलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वतिरकी एक दलित महिलाले ’म त राम्री पनि छैन,लवार्इखुवार्इ पनि यस्तै छ’ भनेर ब्यंग्य गरेकासम्म समाचार आए । यद्यपि यो अलि अश्लीलपाराको गालीगलोज भएकोले होला, खासै लामो समय बजारमा टिकेन ।
पहिलो संविधानसभामा हात्ती भएको एनेकपा (माओबादी) संबिधानसभा भाग २ को निर्वाचनमा मुसो भयो । नेता र नेतृत्वले सद्बुद्धि गुमाएपछि आखिर हुनु नै के थियो र । समानुपातिकको सूची निर्वाचन आयोगमा नबुझाउँदासम्म पेरिसडाँडालाई अब त अलिअलि चेत पस्यो होला भनेर आशा गर्नेहरू चिसोपानीले लुछुप्पै भिज्ने अवस्था आयो ।
बरु यसपटक राजु बस्नेतहरूको प्रमोशन भएन, धादिङ्तिरका एकजना क्रान्तिकारी ठकुरीले ठूलो राहत पाएछन् । आफ्नी छोरीको हत्या गर्ने रविन्द्रप्रताप शाह समानुपातिकको लिस्टमा परेको तर आफू नपरेकोमा हेमन्तप्रकाश वलीले दु:खमनाउ गरेको पत्रिकामा पढियो ।उहाँलाई पनि लाग्यो होला, मुसो भएको पार्टी अब कमिलो पो बन्छ कि ? प्वाँख त पलाउदैन कतै ? वलीजी !
कुरा के हो भने मेरो भाइको हत्यारो तत्कालिन शाही नेपाली सेनाको क्याप्टेन सञ्जय झा हो । उ पछि जनसेनाको कारवाहीमा मारियो भन्ने सुन्नमा आयो । यदि उ कारवाहीमा नपरेको भए आजसम्म उसको पेन्सन हुन्थ्यो, सायद समानुपातिकमा उ पनि पर्थ्यो होला । किनकी यो पनि कमजोर भएको पार्टी संरचनालाई मजबूत बनाउने र पार्टीलाई एकढिक्का बनाउने अर्को महत्वपूर्ण उपाय हुने थियो हाम्रो नेतृत्वलाई ।
चुनाव सकिएलगत्तै एमाले नेता सुरेन्द्र पाण्डेको एउटा समसामयिक लेख पढियो । चुनाव धेरै महंगो भएको, अनेक बहाना बनाएर आफ्नै पार्टीका कार्यकर्ताले उम्मेदवारलाई ठग्ने गरेको इमान्दार र आर्थिक अवस्था कम्जोर हुनेले चुनाव लड्ने दिन सकिएको कुरा सबैलाई झस्काउने खालको थियो ।
एकल महिला कांग्रेसकी केन्द्रीय सदस्य मिना सुब्बालेसमेत समानुपातिकमा पार्न पार्टीमा ठूलो आर्थिक चलखेल भएको र इमान्दार मान्छेले राजनीति गर्ने दिन सकिएको बताएकी छन् ।
गोल्छाकी बुहारी राज्यलक्ष्मीको मनोनयन बिरुद्ध झाँक्रीहरूको आक्रोश र आर्थिक चलखेलको चर्चा झनै उच्चस्तरको रह्यो । यद्द्पि यसप्रकारका चल्खेलका मुद्दाहरू कहिल्यै सतहमा आउने र प्रमाणित हुने कुरा भएनन् ।
समानुपातिकमा नाम दर्ज गर्ने सवालमा एमाओवादी भित्र देखिएको त्रिपक्षीय किचलोलाई परालको आगोमात्र हो भनेर आँकलन गरियो भने ठीक होईन । निकट भविष्यमा हुन लागिरहेको पार्टीको सङगठनात्मक सम्मेलनमा यसले भुसको आगोको काम गर्ने अनुमान गर्न सकिन्छ ।
माओवादी पार्टीलाई निस्वार्थ योगदान र माया गर्नेहरू जेठा, महिला र साहिंला नेताहरुका यतिजना मान्छेहरूले सभासदको जागिर खाने भए भनेर सुन्न चाहेका छैनन् । उनीहरुको चाहाना त एक माओवादी, सबल र पक्षपातरहित नेतृत्व, सफल कार्यनीति चलायमान कार्यकर्ता र सुमेरुजस्तै अटल विश्वास हो । ५४ सदस्यमा खुम्चिएपछि पनि फेरि त्यसैमा गिद्धले सिनोमा लुछाचुँडी गरेजस्तो गर्नु बेकारको व्यावसाय हो ।
समानुपातिकबाट संविधानसभामा पठाउनुको आशय भनेको निर्धाहरू नछुटुन् भनेर हो । समाजका पिछडावर्ग, महिला, दलित जनजाति वा विशेष आरक्षणको आवश्यकता रहेको वर्गलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने उद्देश्यले समानुपातिकको व्यवस्था गरिएको हो ।
त्यहाँ फूलीवाला जर्नेल कर्नेल महानिरीक्षक पठाउने होईन । ब्रान्डेड नेताहरु पनि त्यहाँ थोरै जाँदा हुन्छ । फेरि पनि भ्यागुताको धार्नी पुग्नेवाला छैन् । यही सभासद्को कारणबाट अर्को बखेडा झिक्दै जाने हो भने जनतामा जाने, उनीहरूसँग एकाकार हुने कुरा छेपाराको आहानसरह हुनेछ ।
लज्जास्पद पराजयपछाडिका प्रमुख कारणमा धाँधली हो भनेर जतिसुकै मन्त्रोच्चारण गराएपनि त्यो बस्तुत: कामयावी बन्न सकेन । किन कि त्यो सही थिएन । कुट्ने बेलासम्म चेप्टो छ भने पनि अलि पर जाँदा ग्यालिलियोले पृथ्वी गोलै छ भन्न नछाडेझैँ नेताहरुको अगाडी ’धाँधली पनि हो ’ भने पनि अन्तसकरणले त्यो भन्न दिदैंन कार्यकर्ताहरूलाई ।
एकैछिनपछि हामी जनताबाट कटेरै हो, जनतासँगको दूरी बढेरै हो भन्नुपर्ने अवस्था छ । धाँधली भएको भए पनि त्यस्लाई प्रतिरोध गरेर चिर्न नसकेको हुँदा त्यसमा अब दम छैन् । सरकार चलाइसकेको पार्टीले धाँधलीको सामान्य संकेतसम्म नपाउनु यो जस्तो ठूलो बिडम्बना के हुन सक्छ ?  जसरी पनि सिंहदरवारको परिक्रमा नगरी निदहराम हुने रोग लागेको छ भने अब त्यस्तो नेता र नेतृत्वबाट झिंगो मर्नेवाला छैन ।
नेतृत्वको नियत ठीक हुँदाहुँदै त्यसलाई नंग्याएर पार्टी सुदृढ हुन पनि सक्दैन । नेत्व कम्जोर रह्यो भने पार्टी स्वत: कमजोर बन्छ । तसर्थ नेतृत्व बलवान र भरोसायोग्य बन्ने उपायको खोजी नेतृत्व स्वयमले गर्नुरपर्छ । योजना उसैले बनाउनुपर्छ ।
कार्यकर्ता त अराएको गर्ने न हुन । न उनिहरुले एकमुस्ठ रकम टक्र्याउन सक्छन न आतिथ्यको अन्य कुनै बिकल्प हुन्छ । बरु ऐन मौकामा ज्यान दिन्छन । यो वास्तविकतालाई नेता र नेत्रित्वले बिर्सने हो भने बिनासले घेर्यो भनेर जान्नु पर्छ । बिनासले घेरे पछि बुद्धी पनि उल्टो हुन्छ, चिल्ला र मोटाहरूलाई मात्र आफ्नो देख्ने बानि लाग्दछ । ’बिनास काले, बिपरित बुद्धि’  अर्थात नाश हुने बेलामा बुद्धि पनि बिपरित हुन थाल्दछ ।
आशा गरौँ, त्यो परिस्थितिको सृजना नहोस् । अमुकअमुक नेताको गुटभित्रको सदस्य बन्नुभन्दा एक ढिक्को नेता र गौरवशाली पार्टीको सदस्य बन्नु सबैको नीम्ति गौरवको बिषय हुनेछ ।
नेताका क्रियाकलाप जनताले राम्रोसँग नजिकबाट नियालिरहेका छन् । कुनै पनि कुरा छिपेको छैन । निर्मम समीक्षा गरी प्रशोधितरुपमा जनतामा नफर्कने हो भने अब पिँढीमा बास पाइनेवाला छैन । हामीले त भन्ने न हो बाँकी तजबीज त आदरणीय नेताहरुको हो ।
लेखकः नेपाली जनप्रगतिशील डेनमार्कका अध्यक्ष हुन्

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"