यसरी सुध्रन सक्छ एकीकृत माओवादी

२०७० पुष १४ गते १३:०१ मा प्रकाशित
 848  4 
  0
उदयराज गौतम
आफैंले आफैंलाई ठोक्ने भनेको के हो ?,  यो कुरा झट्ट सुन्दा अचम्म लाग्नसक्छ । ठोक्नु भन्नाले अलि जोडपूर्वक हिर्काउनु नै भन्ने हुन्छ । ठोक्नु भनेको प्याट्ट पार्नु होइन । राजनीतिमा सबैले यसको अर्थ बुझ्ने कुरा पनि भएन । बसेर उठ्दा खुट्टा झन्झनायो भने अरुको कान चिमोट्ने चलन छ । यसो गर्दा खुट्टामा रक्त सन्चार हुन गर्इ पुन: सक्रिय हुन थाल्दछ । पार्टी जीवनमा पनि पार्टीका अंग प्रत्यंगहरू बेलाबखत निष्कृय बन्छन । ती निष्कृय अवयवहरूलाई सक्रिय पार्न चिमोट्ने,  झक्झकाउने  मात्र होइन कहिलेकाहीँ सियोलेसम्म घोच्नुपर्ने हुन्छ । अर्थात, लामो समयसम्म गतिहीन बन्यो भने विधिपुर्वक अकुपञ्चर गर्नुपर्ने हुन्छ ।
udaya Gautamप्रसंग हालै सम्पन्न संबिधानसभा चुनावको हो । एकीकृत (माओवादी) ले अप्रत्यासित पराजय भोग्नुपरेपछि अहिले चौतर्फीरुपमा केन्द्रदेखि तलसम्म यसले ठूलो तरंग ल्याएको छ । राप र ताप सृजना गरेको छ ।  जुन स्वभाविक पनि हो ।  जनताले अब एमाओवादीले आफैंले आफूलाई कसरी ठोक्छ, हेर्नेवाला छन् ।
माघको चिसो जाडोमा ठोक्दा तापको मापन गर्न त्यति सजिलो भने छैन । अर्थात ठोकाइको झोक्का कुन् खालको हुन्छ र त्यसले कत्तिको कम्पन ल्याउँछ, त्यो हेर्न केही समय पर्खिनुपर्ने हुन्छ । सानो प्रकारको अकुपन्चर सेवाले अहिलेको बिकराल परिस्थितिको निदान गर्ला भनेर पत्याइहाल्यो भने अलि हतारो
हुनेछ । पार्टीलाई कुन् रोगले गाँजेको छ, सर्वप्रथम् त्यसको निदान नगरी सामान्य झारफुकमात्र गरेर उपचार गर्न लागियो भने त्यसको उपलब्धी शून्य हुनेछ । हामीले भन्ने गरेको महान नेपाली जनतालाई त्यो हिस्स बुढी खिस्स दाँत शिवाय केही हुने छैन । बिरामीले आफ्नो दुखार्इ र लक्षण बताउने हो । चिकित्सकको काम रोगको निदान गरी सही प्रकारको उपचार बिधि अपनाउने हो । निकै कडा रोग रहेछ भने सामान्य उपचारले निको नहुन सक्छ । अप्रेसन गर्नुपर्ने रोगीलाई सिटामोल ख्वाउन थालियो भने सही उपचार हुदैछ भन्न सकिन्न ।
पार्टीका अंगहरू चाहे ती जनबर्गीय संगठन वा जातीय, क्षेत्रीय मोर्चाहरू हुन्,  सबैमा रोगले ब्यापक संक्रमण गरेको छ । कतिपय ठाउँमा त त्यसले क्यान्सरको रुप लिइसकेको अवस्था छ । त्यसकारण यो ठोकठाक बिधि सामान्य प्रकारको र औपचारिक प्रकारको मात्र हुन गयो भने ‘केटाकेटी आएर गुलेली खेलाए’ सरहनै हुने छ । भुक्तभोगीहरू यसपटक पनि धेरै आशाबादी हुनु नपर्ने बताउन थालिसकेका छन् । सेलदेखि गाऊ कमिटी हुँदै पेरिसडाँडासम्म पुगेको महासंक्रमणको उपचारको निम्ति शतप्रतिशत निर्मम् नबनी आफैले आफैलाई ठोक्नु सम्भव छैन ।
नेतृत्व भनेको सामूहिकताको केन्द्रिकृत अभिव्यक्ति हो, जुन ब्यापक जनवाबको जगमा मात्र सुदृढ बन्न सक्छ, न कि कुनै अदृश्य शक्ति वा स्थायी प्रकारको सानो गुटको सहाराबाट । पार्टी केन्द्रका जेठा, माहिला र साहिंला तीनैतहका नेताका वरिपरी सानातिना भुरेटाकुरे जे जस्ता भए पनि स्थायी प्रकारका गुटहरू छन् । हेटौंडा महाधिवेशनले त्यसलाई निमिट्यान्न पार्न सकेन अर्थात त्यो दिसामा पहल नै गरिएन भन्दा पनि फरक पर्दैन । यी वा ती बिना नामका मुर्कट्टा गुटहरू न कुनै बिचार समूह हुन न पार्टी भित्रको संकटमोचनमा तिनको कुनै योगदान छ । जनताबाट कोसौं  टाढा उछिट्टिएपछिको सजाय कस्तो हुँदोरहेछ भन्ने सामान्य हेक्का अब आदरणीय प्रचन्ड, बाबुराम र नारायणकाजीहरूले राख्नु भएन भने एकपटक होइन हजारौं पटक ठोके पनि त्यो कामयावी हुने छैन ।
अब हुने भनिएको संगठनात्मक सम्मेलनमा ठोस प्रकारको ठोकठाक बिधिको प्रयोग हुने छैन भनेर अहिल्यै अनुमान गर्नु सही होइन । समयक्रममा त्यो देख्न भोग्न पाइन्छ । एकीकृत माओवादी जनताले बनाएको हो । युद्धकालभरी नेता र कार्यकर्ताको सुरक्षा गाँउबस्तीका जनताले गरेका थिए । जब हामी शान्तिप्रक्रिया हुँदै शहर पस्यौँ, हाम्रा जिउ सल्बलाए, जिब्रो रसायो, रहर दिन दुई गुणा रात चौगुणाको दरले बढ्यो । सबै कुरा बढेपछि बानी पनि नबिग्रने कुरा भएन । सवाल के हो भने कम्युनिस्टहरूले मिठो मसिनो खान नहुने, राम्रा कपडा लगाउन नहुने, अग्लो घरमा बस्न नहुने, चिल्ला गाडी चढ्न नहुने भन्ने होईन । मानिसले उच्चतम जीवनयापन गर्न पाउनु पर्ने भन्ने नै मार्क्सबादको लक्ष हो । साधनश्रोतको उच्चतम प्रयोग गरी सबैले समान प्रकारको सुबिधा उपभोग गर्न  पाउनुपर्छ भन्ने कुरामा विबाद नहोला । मनको रहर सापेक्ष हुन्छ । आवश्यकताहरू पनि सापेक्ष हुन्छन् । देश, काल र परिस्थितीको सही आँकलन नगरी मौकामा चौका हान्न थालियो भने त्यसले अनन्तकालसम्म पोल्छ । आफूलाई मात्र हैन यता सातपुस्ता पोल्छ उता पार्टी संगठन सबैतिर पोल्छ ।
नेता र नेतृत्वले आफ्नो रहरलाई जनताको रहरसँग गाँस्न सक्ने हो भने समस्या आउँदैन । जनताको जीवनस्तर जस्ताको त्यस्तै रहने, हिजो गरेका बाचाहरू पूरा गर्न नसकिएको अवस्था हो, आज । गाउँबस्ती घुम्दा जनताले हामीलाई १० वर्ष पाले, रुखो सुखो ख्वाएर । दुष्मनबाट सुरक्षा गरे । हामीले शहर पसेको १० महिना नपुग्दै सबै भुल्न पुग्यौँ । युद्धमा घाइते हजारौं योद्धाहरू आजसम्म जीवनमरणको दोसाँधमा छट्पटाइरहेका छन् । अझै पनि बेपत्ता परिवारले आफन्तहरुको बिछोडमा तड्पिरहनु परेको अवस्था छ । शहिद परिवार र तिनका छोराछोरीप्रतिको पार्टीको बेवास्ताले गर्दा हाकाहाकी उनीहरुले माओवादीको विपक्षमा भोटिङ गरेको कुराहरू आइरहेका छन् ।
सीमान्तकृत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन र उनीहरुले थाहा पाउने गरि राहत दिन हामीलाई के ले छेक्यो ?,  यो एक पेचिलो प्रश्न हो । दूर्गम बस्तीको कुरा मात्र होइन शहरकै बासिन्दालार्इ पनि ‘गणतन्त्र’ को भन्दा बढी सरोकार आफ्ना नेता बेला बेला टोलबस्तीमा आएर दु:ख सूख साटासाट गर्‍यो कि गरेन भन्ने कुरा सँग हुन्छ । आँखा अगाडिको हिजो बिहानको सुकुटे नेता राता रात् आज पत्याउनै नसकिने गरि फेरियो । उसको ब्यापार, आयश्रोत केही छैन । ठूला ठूला महल ठडिए, भत्केको बाटोमा आफ्नो नेताले चिल्ला गाडी गुडाउन थाल्यो, घरपरिवार नातापाता सबैको बस उठमा राम ! राम ! भन्ने गरी फेरबदल आयो । अनि  जनतासँगको सम्बन्ध टाढियो भनेर औंला भाँची भाँची एउटा इमान्दार कार्यकर्ताले आफ्नो नेताको आगाडि नतमस्तक भएर भन्दा उल्टै उस्ले हप्की खाने अवस्थाको परिकल्पना जनयुद्ध थिएन ।
हाम्रा आदरणीय नेताहरू सबैको भरिपूर्ण भएको हामी देख्न चाहन्छौ । कसैलाई पनि दु:ख नपरोस । तर नेताहरूसँगै जनताको अवस्थामा पनि सुधार ल्याउनसकेको भए आज यो ठोकाइको प्रसँग आउने थिएन । आफ्नो टाउकोमा आफैंले आगो झोस्ने कुराको प्रसंग अलि पुरानो भैसकेकोले अहिले ठोक्ने प्रसंगलाई चर्चामा ल्याउन खोजिएको पनि हो जस्तो लागेको छ । यस्तो शुभकार्यमा महान नेपाली जनताले हाम्रो गौरवशाली पार्टीलाई पूर्ण र निशर्त: सहयोग गर्नुपर्छ । ठोक्दा त्यस्को चोट निम्छराहरूको टाउकोमा पर्छ कि भनेर बहुत ख्याल भने गर्नैपर्छ । अझ यसलाई ब्यबस्थित बनाउन बुँदागत सुझाव दिँदा राम्रो हुने सल्लाह भैरबनाथ गणका जिउँदा शहिद मेरा एक मित्रले पनि दिएका छन् । उनलाई पनि के पिर रहेछ भने उनी निकै कडा ठोकाइ खाएका मान्छे पार्टीले फेरि उन्लार्इ नै ठोक्ला र राजु बस्नेतलाई पुन: दोस्रो पटक बढुवा  गर्ला भन्ने पिर । के गर्नु, त्यो पिर मलार्इ पनि नपर्ने कुरा भएन मेरै मित्रको जस्तो । बुँदागत सुझाव यस्तो थियो :
१) शान्तिप्रक्रिया अघि र पछि तल देखि माथिसम्म कसले के कति लाभको पद धारण गर्‍यो ?, त्यो छुट्ट्याउने ।
२) सेलदेखि गाउँ समितिसम्म र त्यो भन्दा माथि आन्तरिक जिम्मेवारीमा रहेर उसले खेलेको भूमिका र उसको कार्य क्षेत्र ।
३) लाभको पदमा र बाहिर जहाँ रहे पनि सबै तहका जिम्मेवारहरूको पहिले र अहिलेको चलअचल सम्पत्तिको निष्पक्ष पहिचान ।
४) श्रोत नखुलेको सम्पत्ति सबै जफत गरी घाइते, बेपत्ता शहिद परिवारलाई बितरण गरि २५ प्रतिशत पार्टीको सम्पत्तिको रुपमा दर्ज गर्ने ।
५) सबै तहका जम्मो कमिटीहरू भंग गरी निर्वाचित कमिटीहरू सानो चुस्त र सक्रिय बनाउने अनि विभागीय अनुगमनको ब्यबस्था गर्ने ।
६) झारपातहरू भन्दा पुराना इमान्दारहरूलाई जिम्मेवारी सुम्पने । खानपानको व्यबस्था पार्टीले नै गर्ने ।
लेखकः नेपाली जनप्रगतिशिल मञ्च, डेनमार्कका अध्यक्ष हुन् ।                                                                 
http://www.onlinekhabar.com/2013/12/149603/

Comments

Popular posts from this blog

War for Peace

गाह्रो छ जिउन

कबिता - "गरिबी"