आमालाई चिट्ठी
मिती- २०६६- बैशाख १२ गते
मातातिर्थ औंशी
आमा !
पृथ्वी लोक बाट साष्टाङ दण्डवत ।
आमा तिम्ले भौतिक रुपमा हामी सम्पूर्ण परिवारजनलाई छोडेर गएको पनि ५ बर्ष भई सक्यो। आमाका ईच्छा पुरा भए कि भएनन भन्ने कुरामा हामी सबै जनहरु सोचनिय छौं। आज मातातिर्थ औंशीको दिन आमालाई सम्झेर आफ्ना भावना उतार्न भनेर म कान्छो छोरो कण्ठु कापी कलम लिएर बसेको छु। पहिला त आमाको आत्मालाई शान्ती मिलोस भन्ने कामना गर्दै घरपरिवारको सन्चो बिसन्चो का बारेमा केही कुरा लेख्छु।
सबै भन्दा पहिला त मनले लेख्न पनि नदिने, भन्न पनि नसक्ने र अझै पनि स्विकार गर्न नचाहने तर यथार्थका बारेमा नै भन्नु पर्दा मन त्यसै मर्माहत भएको छ। आमाको स्वास्थ्य समस्या बिशेष गरी दम, ब्लड प्रेसर र आँङ खस्ने थियो। पछील्लो समयमा दमले आमालाई निकै गाल्यो। धेरै सन्तान जन्माउनु, समयमा उचित औषधोपचार र स्वास्थ्यको रेखदेख पनि नहुनु, गर्हुङगा भारी बोक्नु पर्ने कारणबाट नै आमालाई निकै अप्ठ्यारो भयो। उपचार गर्दा गर्दै पनि आमाको स्वास्थ्य समस्या नै गम्भिर भएका कारणले हामीलाई अली छिट्टै नै छोडेर जानु पर्यो। तर पनि आमाले गर्नु पर्ने जिम्मेबारी परिवारमा केही बाकी रहेन । बरु छोरा, बुहारी, नाती, नातिनिले गरेको प्रगती देख्न नपाउनु र सुख सुबिधा उपभोग गर्न नपाउनु ठुलो दुर्भाग्य भयो । यही कुराले हामीलाई सधैं पिरोलिरहन्छ ।
मैले अगाडि भनेको भन्न नसकिने, लेखन मन नलाग्ने तर यथार्थ भनेको साइलदाइको बारेमा हो । आमालाई थाहा नै छ हाम्रो परिवार जन्मै देखी प्रगतीशिल बिचराधारा बोक्ने थियो । अथवा कमनिस्ट थियो । घरमा कमनिस्टको बिचराधारा प्रबेश गराउने र एकपछी अर्को सदस्यमा यसको प्रभाब गराउने कुरामा माइलदाइ र साइलदाइको हात थियो भन्दा सोर्है आना ठीक हुन्छ । माइलदाइ र साइलदाइ स्कुल पढ्दा देखी नै कमनिस्ट बिचार राख्दै राजनीति गर्थे । जुन कुरामा आमा, हाम्रो परिवार तथा सम्पूर्ण गाउँ नै यसको भुक्त भोगी थियो । तर पछील्ला दिनमा जब माओवादी पार्टिले जनयुद्ध शुरु गर्यो र क्रमस जनताको समर्थन बटुल्दै सरकारी सुरक्षा क्याम्पहरुमा समेत धावा बोल्न थाल्यो, माओवादी पार्टिका मान्छे र सम्बद्ध सबैलाई त्राही त्राही को बातावरण भयो । जोगिनै मुस्किल भयो । सामान्य नागरिक जो राजनैतीक आस्था राख्दैन उनिहरु समेत यसको मारमा परे । यस्तो जोखिम परिस्थितीमा समेत पार्टी र जनताको नाममा समर्पित भएर साइलदाइ घरै छाडेर हिंडे । काठमान्डौ मा डिग्री पढ्न गएको र पढाउन समेत थालेका मान्छे छोडेर घरमा आइ पूर्ण प्रतिबद्धताका साथ पार्टिमा हिंडे, कहिले काही म घर गएको बेलामा सन्जोगले भेट हुँदा अरु जे भए पनि जोगिएर हिड है साइलदाई भनेर सम्झाउथें। यसो भन्दा दाइले सबै हिंडेकै छन क्यारे, तिमीहरु पनि छौ के भयो त भन्ने गर्थे । त्यतिबेला म किर्तिपुरमा बसेर एम ए पढ्दै थिएं । २०६१ सालमा मेरो एम ए सकियो र एउटा स्वास्थ्य सम्बन्धी प्रोजेक्ट मा बर्दिया जान भनेर म नेपालगन्ज आँए । म आएको एक महिना पनि पुगेको थिएन, एकदिन साँझ माइलदाइले भक्कानो फुटाउदै फोन गरे । म मर्माहत भए । मैले पुरा कुरा पनि सुनिन । साइलदाइलाई सेनाले गोली हानेर मारेछ । त्यतिबेला म नेपालगन्जमा साथीको कोठामा एक्लै थिए । साइलदाइको मृत्युको खबरलाई मात्र हेरेको भए मलाई पनि समालिन गार्हो थियो, बुवालाई त झन भन्नै परेन । तर हामीले त्यती बेला मृत्युलाई मात्र नदेखेर साइलदाइको बिचार, उदेस्य र समग्र जनयुद्धको मर्मलाई बुझेर मुटुको अंश चुडिएर जांदा पनि नदुखेको नाटक गर्यौ । आजको दिन सम्म त्यो घटना समयको हिसाबले पुरानो भए पनि प्रभाब एक अंश पनि कम भएको छैन बरु अहिलेको राजनितिक माहौलले झन झन झड्का दिदै पुन दुखित बनाएको छ । यसरी आमाले छोडेर गएको १९ महिना पछी पुन साइलदाइले टुहुरो बनाएर जानुभयो । अहिले हामी पृथ्वी लोकमा सख्यात्मक हिसाबले धेरै जना एकै ठाउमा भए पनि ममतामयी आमा र परिवारका आदर्श साइलदाइको अभाबमा साच्चै टुहुरा भएका छौं । आज आमालाई सम्झने दिनमा सँग सँगै माथिका कुरा जसमा साइलदाइ सँगको बिछोड नलेखिकन मेरो भावना नसमालिएको हुनाले यसरी पोखिएको छु ।
आमा,
अब म सांच्चै नै परिवारजनहरुको सन्चो बिसन्चो तर्फ जान चाहन्छु । यतिबेला बुवालाई पनि सञ्चै छ । बेला बेलामा ग्यास्टिक ले पहिला झैं दु:ख दिन्छ तर औषधी खाएपछी सन्चो हुन्छ । बरु बुवालाई चिल्लो घसी दिने मान्छे कोही छैन, धेरै छोराहरु बाहिर बाहिरै छौं । घरमा लाटु मात्र छ । बिसन्चो भए रेखदेख गर्ने कुरामा कमी छैन । खान्किमा पनि यतिबेला ध्यान दिएकै छन, त्यसैले राम्रै छ बुवालाई । दु:खको कुरा बुवालाई अझै पनि केटाकेटी, गोरुको झन्झट छ । घरमा बसेपछी खेतिपाती गर्नुपर्ने, सबै लेठो शहन पर्ने, यस्तै छ । दिदिलाई पनि सञ्चै छ । भिनाजुको ब्यबहार पहिलाको जस्तै नै छ। स्याना भान्जा सुरज ५ कक्षामा फेदिमै पढ्छन । रामु ईन्डिया नै छन, रामुका परिवार (श्रीमती, १ छोरो, १ छोरी) प्रगतिनगरमा घर किनेर स्यानाको नजिकै बस्छन । साबित्रा भान्जीको त्रियासी नजिकै बिहे भएको हो, अहिले पोखरामा ब्यापार गरेर बस्छिन। दुईवटा बच्चीहरु छन। ज्वांई पनि निकै असल हुनुहुन्छ।
ठुल्दाइले अझै पनि आर्मिको जागिर छोराहरुलाई पढाउन भनेर बाध्यता पूर्वक खाइ राखेकै छन र अहिले ईन्डियामा नै छन । जितु डिग्री पढ्न अमेरिका गएको छ । जितुलाई अमेरिकि सरकारले पढ्ने पैसा दिन्छ । कहिले कहिले म सँग कम्प्युटरमा कुरा हुन्छ । जीवन काठमाडौं मा डाक्टर पढ्दै छ । हाम्रो घरमा एक जना लाई डाक्टर बनाउने भन्ने सपना अब बल्ल जीवनले पुरा गर्ने भएको छ । कान्छो जगु प्रगती नगरमा नै पढ्छ। ठुलि भाउजुले जगुलाई भात् पकाएर पढांउदै छन। माइल्दाई अहिले डेनमार्क छन । त्यहां गएको ३ बर्ष भइसक्यो । मनमैजु स्कुल अनी हिरालाल क्याम्पस काठमाडौंमा पढाउंथेनी, काठमाडौंमा, त्यहिबेला माओवादी भनेर आर्मिले पक्डेर लग्यो र ४ महिना सम्म महाराजगन्जमा राख्यो । बेसरी पिट्ने, यातना दिने गर्यो । त्यही भएर शरीर अली कमजोर भएको छ । काठमाडौंको एकतले घर अहिले ४ तले भएको छ । त्यही घर बनाउदा ॠण लाग्यो भनेर र पि एच् डि पढ्ने मेसो मिल्छ कि भनेर डेनमार्क गएका हुन । पढ्ने मेसो त्यती मिलेन । कमजोर शरीरका बाबजुद दु:ख गरेर बल्ल ॠण तिरे । घरमा मलाई र अरुलाई पनि सहयोग गरे । अस्ती भर्खरै चैत्र १३ गते माइली भाउजु र दर्पण पनि डेनमार्क गएका छन । माइली भाउजुले मलाई भाउजुको जस्तो व्यबहार गर्दिनन पहिला जस्तै आमाले गर्ने व्यबहार नै गर्छिन । छोरो दर्पण पनि ठुलो भएको छ । अहिले म सँग डेनमार्क बाट च्याट गर्छ, टाठो छ।
साइली भाउजुको कुरा अझै पनि पहिला जस्तै छ । परिवार बिचमा त्यती मेल राखन नचाहेको जस्तो । सन्तोष अहिले प्रगतिनगर स्याना कंहा बसेर पढ्छ । काइली भाउजुले सबैलाई बराबर गरेर अझ बडी ख्याल सन्तोषलाई गरेको हुनाले उसले राम्रो पढेको छ, अहिले कक्षा 7 मा गयो । सेकेन्ड भएको छ अरे । कबिता पनि सात मा नै हो, थर्ड भईछ । घरमा सबिता छोरी सार्है इमान्दार छन र लाटी पनि । घर बाट बाहिर कही जान्न । अहिले घरको प्रभाब राम्रै छ । अहिले एस एल सि दिएकी छ । कस्तो गर्छे हेर्नुछ, पास त होली डिभिजन आउने कुरा गार्है छ । स्यानो पिन्सिन आउने बेला त भयो, आएर पनि तुरुन्त के गर्ने हो र भनेर आएको छैन । अहिले छुट्टी आएको छ म सँग बारम्बार फोन भई राख्छ । बिशाल र कुसुमले ३ र ५ कक्षामा पढ्छन । बिशाल फस्ट हो, कुसुम सेकेन्ड । लाटु त्यहीं घरमा छ स्कुल पढाउदै, अहिले पनि घर थाम्ने र व्यबहार समाल्ने लाटु नै भएको छ। बा लाई व्यबहार समाल्ने त्यती बोझ छैन। रांईली भाउजु पनि घरमै सञ्चै छन। अली दुब्ली छन। २ छोरा दर्शन र सुन्दर दुइटै राम्रा छन । दर्शनको अली अली दांत कुहिएको छ। अहिले केजी बाट सेकेण्ड भएर १ गएको छ। सुन्दर अली झल्ला झल्ला छ, घरमै बस्छ। अनी कान्छी बुहारी आमाले देखन पाइनौ, शायद व्यबहार आमालाई पनि मन पर्थ्यौ होला । माइती बाग्लुङ हो, धेरै दाजुहरुका बिचमा भएकोले होला व्यबहार अली अली बुझेकै लाग्यो । अनी मेरी एउटी २ बर्षकी छोरी छ। नाम कृपा हो, राम्री छ । अहिले बाबा, आमा भन्ने, हिंड्ने फोन गर्ने भएकी छ ।
अनी साली कबिता काठमाडौंमा छन, बिहे गरेर एउटा छोरो पाएकी छन । त्रियासिका बुवा बित्न्नुभयो । तल्लाघर हजुरबुवा पनि बिते । ठुला बा, कान्छा बा, अरु परिवार जनहरु सबै आरामै हुनुहुन्छ । बिमल कोरिया, केसब अस्ट्रेलिया गएका छन । ढांडकी ठुलिआमा पनि सञ्चै हुनुहुन्छ । चालिसे ठुलिआमा अस्ती भर्खरै बितनु भएछ । सानीमा सँग भेट घाटै भएको छैन, सन्चो बिसन्चो यती नै हो।
अस्तिको तिथिमा मलाई आमाको सम्झना निकै नै आयो । तिथिमा एकछाकेमा छाक छाडें र श्राद्धको दिनमा घरमा पिण्ड दिएपछी खाने त गरें तर आमा प्रतिको श्रद्धा यतिले त के पुग्नु, अब के गर्ने होला भनेर सोच्एं । हामीले पहिलेनै आमाको नाममा घरको स्कुलमा अछयकोष खोलेका थियौं । रु १०,००० को मात्र । यो गरीब तथा जेहेन्दार विद्यार्थीले पाउने छात्रब्रित्तीमा खर्च हुने गरेको छ । अब मेरो सोच अनुसार यसैमा अरु केही रकम थपेर सेवाको दायरा अली बढाउने वा अन्य कुनै काम गर्ने भन्ने छ, दाइहरु सँग सल्लाह गरेर काम गर्नु पर्ला भन्ने ठानेको छु । पुरानै ढंगले दान दक्षिणा मात्र गर्नु भन्दा छोराहरुको बिचार अनुसार केही पुण्य काम गरे पनि आमालाई राम्रै लाग्ला भन्ने सोचएका छौं ।
आज मातातिर्थ औशिको दिन, आमाको सम्झनामा के गर्ने त भनी सोचए । नेपालगन्जको कोठामा सुत्ने सांगा बाहेक केही छैन। केही दान दक्षिणा गरौं, शुद्ध बाहुन कहाँ पाउने, बरु नुहाईवरी शुद्ध आत्मका साथ आमाको आत्मालाई सन्तोष मिलोस भनी एक छिन प्रार्थना गरें र केही लेख्ने बिचार गरेर यसरी अगाडि बडिरहेको छु। यो लेखेको कुरा बारम्बार पढ्न पाइराखिन्छ। सबैले पढ्छन। जसले गर्दा आमाप्रतिको क्रितज्ञता अरुमा पनि प्रकट हुन्छ। साथै समाजमा सकारात्मक सन्देश जान्छ। मलाई यो कुरा राम्रो लागेर यसो गरेको छु, शायद आमालाई पनि यो कुरा चित्त बुझ्छ होला।
अनी आमा, जती उमेर छिप्पिए पनि, पारिवारीक भए पनि, छोराछोरिको बाउ भए पनि आमाको माया बिर्सिंदो रहेनछ। मात्रिबात्सल्य भनेको अचम्मको चिज रहेछ जस्ले जिबनपर्यन्त पुनर्स्मरण गराइ राख्ने। मलाई याद छ म ठुलै हुने बेला सम्म पनि राती चिल्लो लगाइदिने, खुवाउन खुब जोड गर्ने, राती पनि उठाई उठाई ख्वाउने, घरबाट बहिर जाने बेलामा खानेकुराका पोकाले झोला भरिदिने यि आदी कुराहरुले आमाको व्यबहारलाई अरुभन्दा भिन्न बनाउंदो रहेछ । हुनत यि सबै कुराहरु मान्छेले पाएको सेवा सुबिदा भएको हुनाले स्वार्थ पूर्वक सम्झिएका हुन भन्न सकिएला, तर त्यो भन्दा हाइफाइको सुबिधा अहिले हुँदा पनि किन ति पहिलेका कुरा सम्झनामा ताजै रहेका होलान त ? हो आमाको मायाको कारणले, मात्री प्रेमको कारणले, अनी निस्वार्थ मनका भावनाका करणले । आमाले दिएको स्नेहलाई कुनै पनि सेवा र सुविधा सँग तुलना गर्न सकिन्न रहेछ र मिल्दो रहेनछ । त्यसैले त्यस्तो मात्रिबात्सल्यता प्रदान गर्ने मेरी आमा प्रती हार्दिक क्रितज्ञता र कोटी कोटी प्रणाम । साथै मेरी आमाको आत्माको चिर शान्तिका लागि भगवान सँग जोर हात जोडी प्रथाना गर्दछु ।
बांकी अर्को पत्रमा ।
उही कान्छो छोरो
कन्ठु, नेपालगन्ज ।
Comments
Post a Comment
Thank you for your comment.....
HamroGanaTantra.Blogspot.com